काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य एवं पूर्वसांसद गंगा चौधरी सत्गौवाले दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । एमालेले दाङ १ बाट शान्ता चौधरीलाई उम्मेदवार बनाउने तय भएपछि गंगा चौधरी सत्गौवाले असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी हुन् ।
सामाजिक संजालमार्फत उनले भनेकी छन्, ‘आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहने छु जनता भगवान हुन् । जनता नै सर्वपरि हुन् । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बीचमा आउँदैछु हजुरहरुको साथ चाहिएको छ।’
दाङ– १ बाट आफ्नो नाम पनि सिफारिस भएको तर पार्टीले अर्को निर्वाचन क्षेत्रकी शान्तालाई ल्याएकाले स्वतन्त्र उम्मेदवार बन्न लागेको गंगाले बताइन् । असोज २३ मा उम्मेदवारी दर्ता गरेर पार्टीबाट राजीनामा दिने गंगा चौधरीले बताइन् । गंगाले पार्टीका नेताहरूसामू आफ्ना कुरा राख्दा पनि सुनुवाइ नभएको र उम्मेदवारीबाट वञ्चित गराएको बताइन् ।

प्रतिक्रिया