महामारी पछिको पहिलो विदेश भ्रमणमा पुटिनलाई भेट्ने सीको तयारी


चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०२० को सुरुवातमा कोरोनाभाइरस महामारी सुरु भएयता आफ्नो पहिलो विदेश भ्रमणमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने तयारी गरेका छन् । उज्बेकिस्तानमा हुने प्रमुख क्षेत्रीय शिखर सम्मेलनको अवसरमा यी दुई नेताबीच भेट हुनेछ ।

दुवै देशका लागि महत्वपूर्ण स्थितिमा यी दुईको भेट तय भएको हो। राष्ट्रपति सी ऐतिहासिक तेस्रो कार्यकाल चाहिरहेका छन् भने पुटिनको पश्चिमसँगको सम्बन्ध युक्रेनमा रुसको आक्रमणलाई लिएर निकै खस्किएको छ । बेइजिङ र मस्को दुवै पक्षले वार्ता सम्बन्धी थप विवरणहरू सार्वजनिक गरेका छैनन् ।

सीले बुधबारदेखि आफ्नो तीन दिन लामो कजाखस्तान भ्रमण सुरु गर्नेछन् । त्यस लगत्तै उनले सेप्टेम्बर १५ देखि १६ सम्म चल्ने साङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा उज्बेकिस्तान पुगेर बिहीबार पुटिनसँग भेट्नेछन् ।

सम्मेलनमा उज्बेकिस्तान, कजाखस्तान, किर्गिस्तान, ताजिकिस्तानजस्ता मध्य एसियाली देशहरू तथा इरान, भारत र पाकिस्तान पनि सहभागी हुनेछन् ।

सीको भ्रमण चीनमा जारी लकडाउनको बीचमा हुँदै छ। त्यहाँ अझै पनि शून्य कोभिड नीति कायम छ । भाइरससँगै बाँच्न सिक्ने भन्दै विश्वका अन्य देशहरू खुला गरिए पनि हरेकपटक सङ्क्रमण दर बढ्दा बेइजिङले सम्बन्धित सहर पूर्ण रूपमा बन्द गर्दै आइरहेको छ । पुटिनले पनि निकै दुर्लभ विदेश भ्रमण गर्न लागेका हुन्। गत जुलाईमा तेहरानमा टर्की र इरानी नेताहरूसँगको भेट उनको रुसी सेनाले युक्रेनमा आक्रमण गरेपछिको दोस्रो विदेश यात्रा थियो ।