डा. गोविन्दशरण उपाध्याय ।
एउटा प्रौढ गोरू र एउटा जवान गोरू खेत जोत्न जुवामा नारिए । जवान गोरूले यसो खेततिर आँखा डुलायो र भन्यो ‘यति जावो खेत त म केहीबेरमै जोतेर सक्ने छु । प्रौढ गोरूले यसो जवान गोरूतिर नजर दियो र यसो कर्के नजरले हेर्दै भन्यो ‘मलाई पनि जवानीमा यस्तै लाग्थ्यो ।
अनि, दुवै गोरूले आ–आफ्नो भाग जोत्न थाले । जवान गोरू निकै हौसीएर दौडियो । ऊ फटाफट जोतेर आफ्नो मालिकबाट स्यावासी चाहन्थ्यो भने पौढ (बूढो गोरू) आरामसँग जोतिरहेको थियो ।
जवान गोरूले दिउँसो दुई बजेसम्म एकतिहाई जोतिसकेको थियो तर बूढो गोरू भने आधिबाटोमा थियो । साँझ पर्दापर्दै बूढो गोरूको आफ्नो भाउँ जोतेर सक्यो भने जवान गोरूको लागि भोलि बिहानको मेलो बाँकि नै रह्यो ।
साँझमा जवान गोरू थाकेर हलचल गर्न सक्ने अवस्थामा पनि थिएन भने बूढो गोरू उभिएर आरामसँग सन्तोषपूर्वक घाँस खाइरहेको थियो । बूढो गोरूले करुणासहित भन्यो ‘बाबु, आत्तिए काम सकिन्न । धेर्य र सरलताका साथ काम गर्दा काम राम्रो हुन्छ । थाकिन्न पनि ।’ हामी बूढो गोरू त्यसै बूढो भएका हुँदैनौं । अनुभवले खारिएका हुन्छौं । हो, तिमेरुको जस्तो शक्ति हुँदैन तर गल्ती नगरी हिँड्ने क्षमता हुन्छ ।
‘बूढाहरूसँग समय हुन्छ, धन हुन्छ, धैर्य हुन्छ, अनुभव हुन्छ । जवानसँग समय हुन्छ, धन हुँदैन, जोस हुन्छ, धैर्य हुँदैन, शक्ति हुन्छ अनुभव हुँदैन । त्यसैले बूढाको अनुभव, धैर्य र धनबाट जवानहरूले सिक्नुपर्छ । नेतृत्व जवानले गर्नु राम्रो तर हिँड्ने कामचाहिं बूढोको अनुभवबाट सिक्नु राम्रो ।’
शास्त्रहरूले भन्छ – बूढाहरुको आदरसम्मान गर्दा आयु, विद्या, यश र बलमा वृद्धि हुन्छ । प्रगतिका लागि आयु, ज्ञान र प्रचार र शक्ति चारैथोकको आवश्यकता हुन्छ ।
जवान गोरुको मनको घैंटोमा घाम लाग्यो । उसले बूढो गोरूलाई धन्यवाद दिंदै भन्यो “मैले कुरा बुझें । मेरो जोश अनुभवरहित थियो । अब म कहिले पनि थाक्ने छैन किनभने मसँग स्वास्थ्य रहने, ज्ञान प्राप्त गर्ने, मान्छेहरूका वीचमा लोक प्रिय हुने र आवश्यक पर्दा खट्न सक्ने क्षमताको स्रोत छ । अब म ढुक्क छु । हो, अब म जोशले हिँड्छु तर होस् गुमाउने छैन ।“
राजनीति गर्नेलाई यी दुई गोरूको संवाद केही सिक्न मद्दत मिल्छ कि ? आफैं चिन्तन गरौँ ।

प्रतिक्रिया