पाकिस्तानकी जलवायु मन्त्रीले त्यहाँको एक तिहाइ भूभाग बाढीका कारण पूरै डुबानमा परेको बताएकी छन् । विनाशकारी बाढीले सडकहरू बगाइदिएको छ भने घरहरू तथा बालीनाली नष्ट गरिदिएको र जताततै विध्वंस मच्चिएको छ ।
मन्त्री शेरी रहमानले पानी निकालेर फ्याँक्ने कुनै सुख्खा जमिन बाँकी नरहेको बताइन् । जुनमा मनसुन लागेयता पाकिस्तानमा ज्यान गुमाउनेहरूको सङ्ख्या १ हजार १३६ पुगिसकेको अधिकारीहरूले बताएका छन् । यसपालिको वर्षा एक दशकयताकै सबभन्दा भीषण भएको बताइएको छ ।
पाकिस्तानको सरकारले जलवायु परिवर्तनलाई यसको दोष दिएको छ । बितेको २४ घण्टामा मात्र ७५ जनाको मृत्यु भएको सोमवार अधिकारीहरूले बताएका छन्। उक्त सङ्ख्या बढ्ने ठानिएको छ ।
विदेशमन्त्री बिलावल भुट्टो जरदारीले बीबीसीसँग कुरा गर्दै मारिनेमध्ये एकतिहाइ बालबालिका भएको आँकलन गरिएको बताए । करिब तीन करोड ३० लाख पाकिस्तानीहरू बाढीबाट प्रभावित भएको अधिकारीहरूले अनुमान गरेका छन्। यसको अर्थ प्रत्येक सात जनामध्ये एक जना पाकिस्तानी बाढीले प्रभावित छन् ।
उत्तरी स्वाट उपत्यकामा पुल तथा सडकहरू बगेपछि गाउँहरू सम्पर्कविच्छेदको अवस्थामा छन् । पर्वतीय क्षेत्रमा बस्ने हजारौँ मानिसहरूलाई सुरक्षित स्थलतर्फ जान भनिएको छ। हेलिकप्टरको मद्दतले समेत सबैलाई उद्धार गर्न सकिएको छैन ।
सिन्ध तथा बलोचिस्तान सबैभन्दा धेरै प्रभावित प्रान्त हुन् भने खाइबर पख्तुन्ख्वाको पर्वतीय क्षेत्र पनि निकै प्रभावित भएको छ । यो वर्षको मनसुनी वर्षा सन् २०१० को विनाशकारी बाढीसँग तुलना गर्न सकिन्छ । पाकिस्तानको इतिहासमा सबैभन्दा घातक ठानिएको बाढीमा २ हजार मानिसको ज्यान गएको थियो ।
पाकिस्तान सरकारले सहायता निकाय, मित्र देशहरू तथा अन्तर्राष्ट्रिय दाताहरूसँग सहयोगको मागेको छ । प्रारम्भिक अनुमानमा पुनर्निर्माणका लागि १० अर्ब डलरभन्दा धेरै लाग्ने देखिएको योजना मन्त्री अहसान इकबालले बताए ।

प्रतिक्रिया