रुसमा पक्राउ परेकी बास्केटबल खेलाडीको रिहाइका लागि अमेरिकाको लेनदेन प्रस्ताव


रुसमा पक्राउ परेकी ओलम्पिक विजेता अमेरिकी बास्केटबल खेलाडी ब्रिट्नी ग्राइनरको रिहाइका लागि अमेरिकाले लेनदेनको प्रस्ताव गरेको छ । दुई पटक ओलम्पिक विजेता ग्राइनरले गाँजाको तेल बोकेको पाइएपछि लागूपदार्थ तस्करीको अभियोगमा रुसमा नौ वर्ष जेल सजाय तोकिएको छ ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्वीले उनको रिहाइका लागि अमेरिकाले गम्भीर प्रस्ताव गरेको बताए पनि त्यसबारे थप खुलाएका छैनन् । अमेरिकी सञ्चारमाध्यमहरूले अमेरिकाले पक्राउ गरेका रुसी हतियार तस्करसँग उनलाई साटफेर गर्न प्रस्ताव गरिएको हुनसक्ने उल्लेख गरेका छन् ।

मृत्युका व्यापारी भनेर चिनिने भिक्टर बाउटले अमेरिकामा २५ वर्ष जेल सजाय भुक्तान गरिरहेका छन् । अमेरिकाले उनलाई ग्राइनर र पूर्व अमेरिकी नौसैनिक पल विलनको सट्टामा रुसलाई हस्तान्तरण गर्न सक्ने विवरणहरू आएका छन् । अमेरिकी, ब्रिटिश, क्यानेडियन र आइरिश पासपोर्ट बोक्ने विलनलाई जासुसी गरेको आरोपमा रुसले सन् २०२० मा १६ वर्ष जेल सजाय तोकेको थियो ।

किर्वीले दुवै जनालाई गलत तरिकाले पक्राउ गरिएको भन्दै रिहा हुनुपर्ने बताएका थिए । रोएटर्स समाचार संस्थाका अनुसार रुसले कैदी साटफेर प्रस्तावमा हत्या अभियोगमा जर्मनीको जेलमा रहेका आदिम क्रसैकोभलाई पनि रिहा गर्ने माग अघि सार्न सक्छ ।

३१ वर्षकी ग्राइनरले अदालतलाई आफूले इमानदार गल्ती गरेको र कानुन उल्लङ्घन गर्ने नियत नभएको बताएकी छन् । विश्वकै उत्कृष्ट महिला खेलाडीको पहिचान बनाएकी ग्राइनर गत फेब्रुअरीमा मस्को नजिकैको विमानस्थलबाट गाँजाको तेल भरिएको धूमपान गर्ने विद्युतीय उपकरणसहित पक्राउ परेकी थिइन् । उनी अमेरिकी अफ सिजनमा बास्केटबल खेल्न रुस आएकी थिइन् ।