रुससँग नयाँ सन्धि गर्न अमेरिका तयार


अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२६ मा समाप्त हुने रुससँगको सन्धिलाई प्रतिस्थापन गर्न नयाँ हतियार नियन्त्रण ढाँचा बारे तुरुन्तै वार्ता गर्न तयार रहेको बताएका छन् ।

‘आज मेरो प्रशासन नयाँ हतियार नियन्त्रण ढाँचामा द्रुत रूपमा वार्ता गर्न तयार छ। तर वार्ताका लागि असल नियतका साथ काम गर्ने इच्छुक साझेदार चाहिन्छ,’ बाइडेनले सन्धिको समीक्षा सम्मेलन अघि विज्ञप्तिमार्फत सो कुरा बताएका हुन् ।

रुसले अमेरिकासँग आणविक हतियार नियन्त्रणमा काम पुनः शुरु गर्न तयार रहेको देखाउनुपर्छ, उनले भने। उनले चीनले पनि त्यस्तै गर्नुपर्ने बताए ।

‘चीनसँग एनपीटी आणविक हतियार राष्ट्र र पी–५ को एक सदस्यको रूपमा वार्तामा संलग्न हुने जिम्मेवारी पनि छ जसले जोखिमलाई कम गर्नेछ र सैन्य गतिविधिको अस्थिरतालाई सम्बोधन गर्नेछ। हतियारको वृद्धि कुनै पनि राष्ट्र वा विश्वको लागि फाइदा छैन,’राष्ट्रपति बाइडेनले भने ।