ताइवानबारे अमेरिका र चीनका राष्ट्रपतिबीच फोनवार्ता, एक अर्कालाई चेतावनी


अमेरिकी र चिनियाँ राष्ट्रपतिहरूबीच दुई घण्टा चलेको टेलिफोन संवादमा ताइवानको विषयलाई लिएर दुवैले एक अर्कालाई चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ समकक्षी सी जिनपिङलाई उक्त टापुको हैसियत परिवर्तन गर्ने एक पक्षीय कदमको अमेरिकाले कडा विरोध गरेको बताएका छन् ।

उनले ताइवानबारेको अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको पनि उल्लेख गरेका छन् । बेइजिङले भने राष्ट्रपति सी ले बाइडनलाई एक चीन नीतिको सिद्धान्त पालना गर्न सम्झाएको र आगोसँग खेल्ने मान्छे जल्ने चेतावनी दिएको जनाएको छ ।

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पलोसी ताइवान भ्रमणमा जान लागेको हल्लापछि अमेरिका र चीनबीच तनाव थप बढेको छ । अमेरिकाको परराष्ट्र मन्त्रालयले उनले कुनै त्यस्तो भ्रमण योजना घोषणा नगरेको बताएको छ भने चीनले उनले भ्रमण अघि बढाए गम्भीर परिणाम निम्तिन सक्ने चेतावनी दिएको छ ।

बाइडनले गत साता पत्रकारहरूसँग भ्रमणमा जाने कुरा सेनाले राम्रो नहुने सोचेको बताएका थिए । तर उनको ह्वाइट हाउस प्रशासनले भ्रमणबाट चीनले गरेको चर्चा अनावश्यक र असहयोगी भएको उल्लेख गरेको छ । उपराष्ट्रपतिपछिको बरियातामा रहेकी पलोसी ताइवान गएमा उनी सन् १९९७ पछि उक्त क्षेत्र भ्रमण गर्ने अमेरिकाको सबैभन्दा उच्च राजनीतिज्ञ हुनेछिन् ।

बिहीबारको टेलिफोन संवाद ’प्रत्यक्ष र इमानदार’ भएको प्रतिक्रिया दिँदै बाइडन प्रशासनका एक अधिकारीले उनीहरूबीच प्रत्यक्ष भेटवार्ताको सम्भावनाबारे पनि छलफल भएको जानकारी दिए । बाइडन अमेरिकाको उपराष्ट्रपति हुँदा उनको निमन्त्रणामा सन् २०१५ मा सी ले अमेरिका भ्रमण गरेका थिए। तर बाइडन राष्ट्रपति भएपछि दुई जना नेताको भेट भएको छैन।