रूसी, फ्रान्सेली र अमेरिकी नेताहरूले युक्रेनको युद्धमा आफ्नो स्थितिको लागि समर्थन जुटाउन हानथाप गर्दै छन् । कोही भन्छन् शीतयुद्ध पछि अफ्रिकी महाद्वीपमा प्रभाव बढाउन सबैभन्दा तीव्र प्रतिस्पर्धा भइरहेको छ ।
रूसी विदेशमन्त्री सर्गेई लाभरोभ र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले यसै साता धेरै अफ्रिकी देशको भ्रमण गर्दैछन् । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएआडी) का प्रमुख सामन्था पावर गत साता केन्या र सोमालिया भ्रमणमा थिइन् भने संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्ड आगामी साता घाना र युगान्डाको यात्रामा निस्कँदै छन् ।
सुशासन प्रवद्र्धनमा केन्द्रित संस्था डेमोक्रेसी वर्कसका निर्देशक विलियम गुमेडे शक्ति राष्ट्रहरूबाट भएका निरन्तर भ्रमणबाट अफ्रिकामा प्रतिद्वन्द्वी पक्षहरूले प्रभाव जमाउन खोजिरहेका र नयाँ शीतयुद्धको श्रीगणेश गरेजस्तो भान भएको बताएका छन् ।
रूसी विदेशमन्त्री लाभरोभले खडेरी र भोकले ग्रस्त महाद्वीपमा आफ्नो यात्रामा पश्चिमा देशलाई खलनायकको रूपमा चित्रण गर्न खोजेका छन् भने विश्व बजारमा खाद्यान्नको मूल्य बढेको दोष पनि उनीहरूमाथि नै थोपरेका छन् । पश्चिमा नेताहरूले पनि खाद्यान्नलाई हतियारको रूपमा क्रेमलिनले प्रयोग गरेको आरोप लगाएका छन् ।
राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्वमा रुसले अफ्रिकामा समर्थन प्राप्त गर्न धेरै वर्षदेखि काम गरिरहेको छ । मस्कोले आधा शताब्दी पुरानो मैत्रीलाई पुनर्जीवन दिने प्रयास गरिरहेको छ । तत्कालीन सोभियत सङ्घले औपनिवेशिक शासनको अन्त्य गर्न लडेका धेरै अफ्रिकी आन्दोलनलाई समर्थन पनि गरेको थियो ।

प्रतिक्रिया