चट्याङ लागेर बिहारमा २० जनाको मृत्यु


भारतको बिहार राज्यमा चट्याङ लागेर २४ घण्टाको अवधिमा २० जनाको मृत्यु भएको छ । त्यहाँ बुधवार र बिहीबार धेरै चट्याङ पर्न सक्ने पूर्वानुमान गरिएको छ । बिहारका मुख्यमन्त्री नितीशकुमारले राज्यको विपद् व्यवस्थापन प्राधिकरणको सुझाव पालना गर्न मानिसहरूलाई आग्रह गरेका छन् ।

वर्षायाममा भारतमा प्रत्येक वर्ष चट्याङका कारण सयौँ मानिसको मृत्यु हुने गरेको छ । भारतमा चट्याङका कारण अन्य देशको तुलनामा बढी मानवीय क्षति पुग्ने गरेको बताइन्छ । मुख्यमन्त्री नितीशकुमारले चट्याङबाट मृत्यु भएका मानिसका परिवारलाई प्रतिपरिवार ४० हजार भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

मुख्यमन्त्रीले गत साता अधिकारीहरूसँग बैठक गरेर विद्यालय र अस्पतालसहित सबै सरकारी भवनहरूमा ’लाइटनिङ अरेस्टर’ अर्थात् चट्याङ प्रतिरोधक उपकरण राख्न निर्देशन दिएको द टाइम्स अफ इन्डियाले जनाएको छ । यो प्रदेशको भौगोलिक अवस्थितिका कारण पनि वर्षायाममा बढी चट्याङ पर्ने बताइएको छ ।

भारतीय उष्णदेशीय मौसम विज्ञान संस्थानले भूउपग्रहबाट सङ्कलन गरेको विवरणले सन् १९९५ र २०१४ को बीचमा चट्याङका घटनामा उल्लेख्य वृद्धि भएको देखिएको छ । एउटा संस्थाले गरेको अध्ययनमा भारतमा सन् २०२० को अप्रिलबाट २०२१ को मार्चबीचमा एक करोड ८० लाख पटक चट्याङ परेको देखिएको थियो ।