युरोपेली सङ्घ (ईयू) का सदस्यहरू रुसले ग्यासको आपूर्ति अवरुद्ध गरेको अवस्थामा त्यसको प्रयोग कटौती गर्न सहमत भएका छन्। तर केही देशहरूलाई यो बाध्यताबाट छुट हुनेछ । ईयूका सदस्य राष्ट्रहरू स्वैच्छिक रूपमा अगस्टबाट मार्चसम्म ग्यासको प्रयोग १५ प्रतिशत घटाउन सहमत भएका हुन् ।
यसअघि कुनै पनि देशलाई यो सहमति बाध्यकारी भनिएको कारण कतिपयले विरोध गरेका थिए । ईयूले यो सहमतिको उद्देश्य जाडो यामअघि ग्यासको बचत गर्नु रहेको जनाइएको छ। साथै युरोपेली राष्ट्रहरूको सङ्गठनले ’ऊर्जा आपूर्तिलाई निरन्तर हतियार बनाएको’ भन्दै रुसलाई चेतावनी समेत दिएको छ।
आपूर्ति सङ्कटको तहमा पुगेको अवस्थामा यो स्वैच्छिक सहमति बाध्यकारी हुने भनिएको छ। यद्यपि ईयूको ग्यास पाइपलाइन नपुगेका आयरल्यान्ड, माल्टा र साइप्रसलाई ग्यासको प्रयोग घटाउने सहमति बाध्यकारी हुने छैन । उनीहरूसँग आपूर्तिको वैकल्पिक स्रोत नभएकाले छुट दिइएको जनाइएको छ ।
युरोपेली विद्युतीय प्रणालीमा नजोडिएका र विद्युत् उत्पादनका लागि पनि ग्यासमा निर्भर रहेका अरू बल्टिक राष्ट्रहरूलाई पनि यो बाध्यकारी लक्ष्यमा छुट हुनेछ। ग्यासको भण्डारण लक्ष्य पूरा गरिसकेका देशहरूले पनि यो सहमतिबाट छुटका लागि आग्रह गर्न सक्नेछन्।

प्रतिक्रिया