म्यान्मारमा पूर्वसांसदसहित चार अभियानकर्मीलाई दिइयो मृत्युदण्ड


म्यान्मारको सेनाले चारजना प्रजातन्त्रवादी नेतालाई मृत्युदण्ड दिएको छ। त्यहाँ दशकौँपछि पहिलो पटक मृत्युदण्ड दिएको छ ।पूर्व सांसद फ्यो जेया थअ, लेखक को जिम्मी, ह्ला म्यो आङ र आङ थुरा जअलाई आतङ्ककारी गतिविधि गरेको आरोप लगाइएको बीबीसीले उल्लेख गरेको छ ।

राज्यनियन्त्रित समाचारसंस्था ग्लोबल न्यूज लाइट अफ म्यान्मारले ती चार जनालाई निर्मम र अमानवीय आतङ्ककारी गतिविधिलाई निर्देशित र व्यवस्थापन गरेर षड्यन्त्र गरेका कारण मृत्युदण्ड दिइएको बताएको छ ।

समाचारमा उनीहरूलाई प्रतिआतङ्कवाद कानुनअन्तर्गत सजाय दिइएको बताइए पनि कहाँ र कसरी मृत्युदण्ड दिइयो भन्ने स्पष्ट पारेको छैन । संयुक्त राष्ट्रसङ्घका अनुसार म्यान्मारमा यसअघि सन् १९८८ मा झुन्डाएर मृत्युदण्ड दिइएको थियो ।

बीबीसी बर्माका अनुसार ती चार जनामा परिवारका सदस्यहरू याङ्गुनको इन्सेन जेलमा अधिकारीहरूसँग भेट्न कुरिरहेका छन् । रोएटर्सका अनुसार फ्योकी पत्नी थाजीन युन्ट आङले आफूलाई मृत्युदण्ड कार्यान्वयन गरिएको विषयमा जानकारी नदिइएको बताएकी छन् ।

ती चार जनालाई गत जनवरीमा बन्द इजलासभित्र मृत्युदण्डको सजाय सुनाइएको थियो। मानवाधिकारवादी समूहहरूले सो सुनुवाइलाई अन्यायपूर्ण र अपारदर्शी भनेर आलोचना गरेका थिए । फ्यो र को जिम्मी नामले चिनिने क्यो मीन यु दुई जना जुन महिनामा पुनरावेदनमा हारेका थिए ।

५३ वर्षीय जिम्मी सन् १९८८ मा सैन्य शासनको विरोध गर्ने विद्यार्थी समूहका सदस्य थिए । उनी सन् २०१२ मा निस्किनुअघि धेरै पटक प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका कारण जेल परेका थिए । उनलाई गत वर्ष अक्टोबरमा याङ्गुनस्थित घरमा हतियार लुकाएको र छाया सरकारको सल्लाहकार भएको आरोपमा गिरफ्तार गरिएको थियो ।

सुकीसँग निकट मानिएका ४१ वर्षीय फ्यो एनएलडीका सांसद थिए। उनी हिपहप कलाकार थिए । फ्यो सैन्य शासकविरुद्ध कडा अभिव्यक्तिका कारण सेनाको निसानामा परेका थिए। उनलाई गत नोभेम्बरमा गिरफ्तार गरिएको थियो ।

जुन महिनामा सेनाले मृत्युदण्डको घोषणा गर्दा अन्तर्राष्ट्रिय समुदायले त्यसको निन्दा गरेको थियो । सन् २०२१ मा सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएको थियो ।

आङ सान सूकीले नेतृत्व गरेको नेशनल लीग फर डेमोक्रेसी एनएलडीको नेतृत्वमा रहेको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गर्दै सेनाले गतवर्षसत्ता लिएको थियो। सैन्य कूको विरोधमा उठेको स्वरलाई पनि सेनाले दमन गरेको थियो ।