श्रीलङ्काको राजधानी कोलम्बोस्थित सरकार विरोधी मुख्य प्रदर्शन शिविरमा सुरक्षा फौजले छापा मारी शिविरका पाल निकाल्न थालेको छ ।
प्रदर्शनकारीहरूले राष्ट्रपति कार्यालय क्षेत्र छोड्नु भन्दा घण्टौँ अघि सयौँ सेना र प्रहरीले उनीहरू विरुद्ध आक्रमण सुरु गरेका थिए । रनिल विक्रमसिङ्घले राष्ट्रपति पदको शपथ लिएपछि यस्तो घटना भएको हो।
श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबय राजपक्षले गत साता देश छोडेर भागेका थिए । पूर्वप्रधानमन्त्री समेत रहेका विक्रमसिङ्घ जनतासामु अलोकप्रिय नेता हुन्।
उनले प्रदर्शनकारीहरू विरुद्ध कडा कारबाही गर्ने वाचा गरेका छन् । केही प्रदर्शनकारीहरूले भने उनलाई मौका दिने बताएका छन् । चरम आर्थिक सङ्कटमा परे पछि श्रीलङ्कामा महिनौँदेखि व्यापक अशान्ति छाएको छ। धेरैले राजपक्ष प्रशासनले देशको वित्तीय व्यवस्थापन सही ढङ्गमा नगरेको दोष लगाएका छन् र विक्रमसिङ्घलाई पनि समस्याको एक कारकको रूपमा हेर्छन् ।
उनले संसद्को मत जितेको भोलिपल्ट सडकमा प्रदर्शनहरू भएका छन् । शपथ लिए लगत्तै विक्रमसिङ्घले सरकार ढाल्ने वा सरकारी भवनहरू कब्जा गर्ने कुनै पनि प्रयास लोकतान्त्रिक गतिविधि नभएको स्पष्ट पारे र त्यस्ता गतिविधिमा संलग्न हुनेलाई कडा कानुनी कारबाही गरिने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया