युक्रेनका गुप्तचर प्रमुख र मुख्य अभियोजनकर्ता निलम्बित


युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आफ्नो देशको गुप्तचर एजेन्सी (एसबीयू) का प्रमुख र मुख्य अभियोजनकर्तालाई निलम्बन गरेका छन् । ती दुवै संगठन र पदहरू देशका शक्तिशाली संरचनामध्ये पर्छन् ।

उनले हाल रुसको कब्जामा रहेका क्षेत्रका ६० भन्दा बढी पूर्व कर्मचारीहरूले युक्रेनको विरुद्धमा काम गरिरहेको बताए । उनका भनाइमा रुसलाई सहयोग गरेको तथा देशद्रोह गरेको आरोपका कुल ६५१ वटा मुद्दाहरू सुरु गरिएको छ। ती मुद्दा कानुन कार्यान्वयन गर्ने अधिकारीविरुद्ध रहेका छन् ।

पछिल्लो कारबाहीबारे कारबाहीमा पर्ने अधिकारीहरू इभान बाकानोभ र एरिना भेनेडिक्टोभाले कुनै टिप्पणी गरेका छैनन् । आइतबार ढिलो गरी जारी गरिएको एउटा भिडियो सम्बोधनमा जेलेन्स्कीले भने, ‘राज्यको राष्ट्रिय सुरक्षाको जगविरुद्ध अपराधको यस्तो श्रृङ्खलाले दुई संस्थाको सम्बन्धित प्रमुखमाथि धेरै गम्भीर प्रश्न खडा गर्छ।’

‘ती प्रत्येक प्रश्नको उचित जवाफ प्राप्त हुनेछ।’  इभान बाकानोभ राष्ट्रपति जेलेन्स्कीका बाल्यकालका साथी पनि हुन्।

त्यसपछि युक्रेनी टेलिभिजनमा देखापरेका जेलेन्स्कीका एकजना शीर्ष सल्लाहकार एन्ड्री स्मिर्नोभले ती अधिकारीहरूलाई नहटाइएको तर प्रारम्भिक विवरणका आधारमा अनुसन्धानका लागि जिम्मेवारीबाट निलम्बन मात्र गरिएको बताए ।

सन् २०१४ मा रुसले कब्जा गरेको क्षेत्रका एसबीयूका क्षेत्रीय प्रमुख ओलेह कुलिचिनलाई देशद्रोहको आशङ्कामा पक्राउ गरिएपछि उक्त सङ्गठनका प्रमुखलाई पनि निलम्बन गरिएको हो।