काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ सबै वामपन्थी पार्टीहरुलाई तालमेलका लागि आग्रह गरेका छन् । नेपाल–चीन हिमालयन मैंत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौति र अवको बाटो’ विषयक कार्यक्रममा नेता श्रेष्ठले मुलुकलाई संकटबाट जोगाउनका लागि पनि सबै वामपन्थी शक्तिहरु तालमेल गरेर अघि बढनुपर्ने बताएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उनले सबै बामपन्थी नेताहरुले कमीकमजोरी भए आत्मसमिक्षा गर्दै तालमेलको बाटामा अघि बढनुपर्ने आवश्यकता औंल्याए । नेता श्रेष्ठले आफैं सिद्धिने बाटोबाट बच्न पनि वामपन्थी शक्तिहरु मिलेर अघि बढनुपर्ने बताए ।
उनले भने,‘ आदरणीय नेता कमरेड केपी शर्मा ओली यहाँ हुनुहुन्छ । अरु नेताहरु बाहिर हुनुहुन्छ । म सबैसँग विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु–तुम शेर तो, हम सवाशेर छोडिदिउँ । घटनाक्रमको विषयबस्तुमा गम्भीर आत्मसमीक्षा गरांैं । कतिपय पछाडि गरौंला । जो अहिल्यै गर्न पर्नेछ । कमीकमजोरी भए आत्माआलोचना गरौं । म त आत्माआलोचना गछु पार्टी एकता जोगाउन सकिन भनेर । सबै मिलौं । प्रतिनिधिसभा विघटनमा के भयो, एमसीसीमा के भएको थियो, १९ बुँदे आरोप पत्रमा के भएको थियो ? पार्टी एकताका लागि तत्काल आधार नबन्ला तर तालमेल गरेर अघि बढन सकिन्छ ।’
श्रेष्ठले नेपालको परराष्ट्र नीतिलाई स्वतन्त्र बनाई राख्न दलहरुबीच राष्ट्रिय सहमति हुनुपर्ने पनि बताए ।

प्रतिक्रिया