साउदी अरेबियाले सबैका लागि खोल्यो एयर स्पेस


साउदी अरेबियाले शुक्रबार सबै वायु वाहकहरूका लागि आफ्नो हवाई क्षेत्र खोल्ने निर्णय गरेको छ । देशको नागरिक उड्डयनको प्राधिकरणले ट्वीट गर्दै निर्णय सार्वजनिक गरेको हो । सन् १९४४ को शिकागो कन्भेन्सन अन्तर्गत आफ्नो दायित्वहरू पूरा गर्न यो निर्णय गरेको दाबी गरिएको छ ।

यो निर्णयले तीन महादेशलाई जोड्ने र अन्तरराष्ट्रिय हवाई कनेक्टिभिटी बढाउने विश्वव्यापी हबको रूपमा राज्यको स्थितिलाई सुदृढ बनाउने विश्वास गरिएको छ । यो निर्णय सार्वजिनक भएसँगै सोही दिन इजरायली कार्यवाहक प्रधानमन्त्री यायर लापिडले आफ्नो हवाई क्षेत्र खुला गर्ने साउदी अरेबियाको निर्णयको प्रशंसा गरेका छन्।

‘यो पहिलो चरण हो। हामी इजरायली अर्थतन्त्र, यसको सुरक्षा र इजरायलका नागरिकहरूका लागि उचित सावधानीका साथ काम गर्न जारी राख्नेछौं,’ ल्यापिडको कार्यालयबाट जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिबन्धका कारण इजरायली एयरलाइन्सहरूले पहिले साउदी एयरस्पेसमा यात्रा गर्न पाउँदैनथे जसले एशिया लगायातका क्षेत्रहरूमा उडानहरू महँगो र लामो बनाएको थियो ।

साउदी अरेबियाले शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनलाई स्वागत गर्ने तयारी गरेको दिनमा यो घोषणा सार्वजनिक भएको हो । .राष्ट्रपति बनेपछि बाइडेनको यहाँ र मध्यपूर्वको पहिलो भ्रमण हो। भ्रमणका क्रममा उनले साउदी अरेबियाका राजा सलमान बिन अब्दुलाजिज अल साउद र युवराज मोहम्मद बिन सलमान अल साउदसँग भेट गर्ने बताइएको छ।