वासिङ्टन। अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा अग्रिम मतदान गर्नेको सङ्ख्या चार करोड ३० लाख नाघेको छ।
बीबीसीका अनुसार फ्लोरिडा विश्वविद्यालयको इलेक्सन ल्याबको तथ्याङ्कमा दैनिक ४० देखि ५० लाख अमेरिकी नागरिकले अग्रिम मतदान गरिरहेका छन् । यो सङ्ख्या पछिल्ला अधिकांश निर्वाचनको तुलनामा उच्च हो ।
इलेक्सन ल्याबको तथ्याङ्क व्यवस्थापन गर्ने प्राध्यापक माइक म्याकडोनाल्डका अनुसार टेक्ससमा औसतभन्दा धेरै मतदान भएको छ । त्यहाँ हिस्पानिक समुदायका मतदाताको सहभागितासमेत उल्लेख्य रूपमा बढेको छ ।
यसपटकको कुल मतदान सन् २०२० र सन् २०१८ को मध्यावधि निर्वाचनको सङ्ख्याभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ । सन् २०१८ मा भएको मध्यावधि निर्वाचनमा सन् १९१४ पछिकै उच्च मतदान भएको थियो ।
म्याकडोनाल्डका अनुसार टेक्ससमा सन् २०२२ को मध्यावधि निर्वाचनको तुलनामा अहिलेसम्म करिब १७ लाख ५० हजार बढी मत खसिसकेको छ । उक्त राज्यमा ५८ लाखभन्दा बढी मतपत्र सङ्कलन भइसकेका छन् ।
टेक्सस यसपटकको निर्वाचनमा महत्त्वपूर्ण राज्यका रूपमा देखिएको छ । त्यहाँको नतिजाले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी अवधिमा अमेरिकी सिनेटमा कुन दलको नियन्त्रण रहने भन्ने निर्धारण गर्न सक्नेछ ।
राजनीतिक दलको आबद्धता खुलाउनुपर्ने व्यवस्था भएका राज्यका तथ्याङ्कले डेमोक्रेटिक पार्टीका मतदाताको अग्रिम मतदान बढेको देखाएका छन् । रिपब्लिकन पार्टीका मतदाताको अग्रिम मतदान भने सन् २०२२ कै हाराहारीमा रहेको छ ।
म्याकडोनाल्डका अनुसार कुनै पनि राजनीतिक दलमा आबद्धता नजनाएका मतदाताको अग्रिम मतदान पनि बढेको छ । यद्यपि, यी तथ्याङ्कले उनीहरूले कुन उम्मेदवारलाई मतदान गरे भन्ने खुलाउँदैनन् ।
बिहीबार सार्वजनिक तथ्याङ्कअनुसार अग्रिम मतदानमध्ये ४४ प्रतिशत डेमोक्रेटिक पार्टीका मतदाताले गरेका छन् । त्यस्तै, रिपब्लिकन पार्टीका मतदाताले ३१ दशमलव २ प्रतिशत र कुनै पनि राजनीतिक दलमा आबद्धता नजनाएका मतदाताले २४ दशमलव ७ प्रतिशत मतदान गरेका छन् । तर, यी तथ्याङ्क राजनीतिक दलको आबद्धता खुलाउनुपर्ने व्यवस्था भएका करिब आधा राज्यका मात्र हुन् ।

प्रतिक्रिया