अध्यादेशको शासन स्वीकार्य छैनः गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रवृत्ति अघि बढाउन खोजेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने बताएका छन् ।

मंगलबार पार्टीको केन्द्रीय समिति बैठकमा सभापति थापाले अध्यादेश जारी गर्ने र त्यसैका आधारमा राज्य सञ्चालन गर्ने प्रवृत्तिको प्रतिरोध हुने बताएका हुन् । उनले । विगतमा अध्यादेश ल्याएपछि त्यसलाई प्रतिस्थापन गर्ने विधेयक संसद्मा पेस हुने अभ्यास रहे पनि अहिले त्यसको समेत आवश्यकता नदेख्ने गरी शासन गर्न खोजिएको उनको टिप्पणी थियो ।

सभापति थापाले कांग्रेस सभापति बनेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पाँचपटक भेट गरिसकेको जानकारी दिए । सभापति भएपछि विभिन्न दलका नेताहरूसँग भेटघाट र छलफल हुनु स्वाभाविक राजनीतिक प्रक्रिया भएको उनले बताए । मधेश प्रदेश सरकारको विषयमा ओली, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल हुनु पनि स्वाभाविक रहेको उनको भनाइ थियो ।

उनले भने, ‘कांग्रेसको सभापति भएपछि केपी ओलीलाई पाँचपटक भेटिसकेँ । सभापति हुँदा एमाले, माओवादी, रास्वपा सभापतिसँग पनि भेट हुन्छ । यो स्वाभाविक प्रक्रिया हो,’ उनले भने ।