आइएसएसमा नयाँ चालक दल


केप क्यानभेरल । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) का लागि चार नयाँ चालक दलका सदस्य बोकेको स्पेसएक्सको ड्रयागन अन्तरिक्षयान बिहीबार आइएसएसमा सफलतापूर्वक जोडिएको छ। नयाँ चालक दलले त्यहाँ करिब छ महिना बिताउनेछ।

स्पेसएक्सको फाल्कन–९ रकेटले ‘क्रू–१३’ मिसनका सदस्यलाई लिएर स्थानीय समयअनुसार बिहान ११ः१० बजे फ्लोरिडाको केप क्यानभेरलबाट उडान भरेको थियो। सात घण्टा ५५ मिनेटपछि ड्रयागन ‘ग्रेस’ क्याप्सुल आइएसएसमा जोडिएको नासाले जनाएको छ। नासाका अनुसार अमेरिकी अन्तरिक्षयानले आइएसएससम्म गरेको यो सबैभन्दा छोटो यात्रा हो।

क्रू–१३ मा अमेरिकी अन्तरिक्षयात्री जेसिका वाटकिन्स र ल्युक डेलानी, क्यानाडाका जोशुआ कुट्रिक तथा रूसका सेर्गेई टेटेरिआटनिकोभ छन्। आइएसएस पुगेपछि वाटकिन्सले त्यहाँ पुग्न पाउँदा आफूहरू निकै उत्साहित भएको बताए। कुट्रिकले अन्तरिक्षमा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउँदा खुशी लागेको बताए।

क्रू–१३ ले आइएसएसमा रहेका अमेरिकी जेसिका मीर र ज्याक ह्याथवे, फ्रान्सकी सोफी एडेनोट तथा रूसका आन्द्रे फेडयेभबाट जिम्मेवारी लिनेछ। क्रू–१२ का सदस्यहरू सोमबार पृथ्वी फर्कने तयारीमा छन्। मौसमको अवस्थाअनुसार उनीहरूको फिर्ती समय परिवर्तन हुनसक्ने बताइएको छ।

क्रू–१३ को प्रक्षेपण सेप्टेम्बरको मध्यतिर हुने तय भए पनि ड्रयागनमा प्राविधिक त्रुटि देखिएपछि स्थगित गरिएको थियो। क्यानाडाका कुट्रिककी श्रीमतीले उनी अन्तरिक्षमा रहँदै गर्दा बच्चा जन्माउने अपेक्षा गरिएको छ।

आइएसएसमा करिब २५ वर्षदेखि निरन्तर मानव बसोबास गर्दै आएको छ। यसलाई सन् २०३० आसपास पृथ्वीको एउटा महासागरमा खसाल्ने गरी कक्षाबाट हटाउने योजना छ। रूसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि अन्य क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य प्रभावित भए पनि अमेरिका र आइएसएसका साझेदारले रूससँग अन्तरिक्ष स्टेशनमा सहकार्य जारी राखेका छन्।