रोयटर्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको शान्ति प्रस्ताव अस्वीकार गरेको वाल स्ट्रिट जर्नलले समाचार प्रकाशित गरेपछि इरानले अमेरिकाको औपचारिक जवाफको प्रतीक्षा गरेको छ ।
होर्मुज जलडमरूमध्य पुनः खोल्ने र मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यसहित इरानले अघि सारेको प्रस्तावबारे अमेरिकाको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन ।
इरानले न्युयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा कतारका मध्यस्थकर्तामार्फत अमेरिकासमक्ष प्रस्ताव पठाएको जनाएको छ । प्रस्तावअनुसार सात दिनभित्र रणनीतिक जलमार्ग पुनः खोल्ने र क्षेत्रीय द्वन्द्व अन्त्य गर्ने तयारी गरिएको छ ।
इरानले होर्मुज जलडमरूमध्यको विषयमा आफ्नो क्षेत्रीय प्रतिद्वन्द्वी साउदी अरेबियासँग पनि संवाद गरेको छ । सात महिनादेखि जारी द्वन्द्वका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एकबाट हुने तेल आपूर्ति प्रभावित भएको छ । यसले विश्व अर्थतन्त्रमा समेत असर पारेको छ ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार संयुक्त राष्ट्रसङ्घमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी पक्ष सम्झौताका लागि गम्भीर भए प्रस्ताव कार्यान्वयन गर्न आवश्यक सबै तयारी पूरा भएको बताएका थिए ।
“होर्मुज जलडमरूमध्य पुनः खोल्ने र सम्झौतामा पुग्ने विषयमा अमेरिकी पक्ष गम्भीर छ भने अहिले सबै तयारी पूरा भइसकेको छ,” उनले भने ।
अमेरिकाले प्रस्ताव स्वीकार गरेमा युद्धरत पक्षले आपसी सहमतिका विषयमा थप व्यापक वार्ता सुरु गर्न सक्ने अराघचीले बताए । त्यस्तो वार्तामा इरानको आणविक कार्यक्रमसमेत समावेश हुन सक्ने उनको भनाइ छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई आणविक बम प्राप्त गर्न नदिने प्रतिबद्धता जनाउँदै आएका छन् । तर, एक वरिष्ठ इरानी अधिकारीले अमेरिकाले शान्ति प्रस्ताव स्वीकार गरे पनि इरानले आफ्नो आणविक कार्यक्रमबारे कुनै लचकता नअपनाउने बताएका छन् ।
ती अधिकारीका अनुसार इरानले युरेनियम प्रशोधन गर्ने आफ्नो अधिकार र उच्च प्रशोधित युरेनियम देशबाहिर पठाउने विषयमा कुनै सम्झौता गर्ने छैन ।
इरानले लेबनानसहित सबै मोर्चामा जारी युद्ध अन्त्य गर्ने प्रस्ताव अघि सारेको छ । विदेशमन्त्री अराघचीका अनुसार प्रस्ताव कार्यान्वयनका लागि अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउनुपर्ने, रोक्का गरिएको इरानको रकम फुकुवा गर्नुपर्ने र इरानी तेलमाथिका प्रतिबन्ध हटाउनुपर्नेछ ।
यसअघि एक अमेरिकी अधिकारीले मध्यस्थकर्तामार्फत भइरहेको छलफललाई सकारात्मक र रचनात्मक बताएका थिए । नाम सार्वजनिक नगर्ने सर्तमा ती अधिकारीले यस्तो बताएका हुन् ।

प्रतिक्रिया