न्युयोर्क । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध बिहीबार न्युयोर्कमा भएको प्रदर्शनका क्रममा चलचित्र अभिनेत्री सुसान सारन्डन र ‘ह्याक्स’ की अभिनेत्री ह्याना आइनबिन्डर पक्राउ परेका छन् ।
एएफपीको फुटेजमा संयुक्त राष्ट्रसंघको महासभालाई नेतान्याहुले सम्बोधन गर्ने तयारी गरिरहँदा प्रदर्शनमा सहभागी सारन्डनलाई न्युयोर्क प्रहरी (एनवाईपीडी) का अधिकारीहरूले हतकडी लगाउँदै गरेको देखिन्छ ।
‘ज्युइस भ्वाइस फर पिस’ ले आयोजना गरेको प्रदर्शनबाट आइनबिन्डरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको ‘न्युयोर्क पोस्ट’ ले जनाएको छ । पक्राउ’t प्रतिक्रिया माग्दा न्युयोर्क प्रहरीले तत्काल जवाफ दिएन ।
नेतान्याहुले संयुक्त राष्ट्रसंघमा सम्बोधन गरिरहँदा प्रदर्शनकारीहरूले ‘इजरायललाई हतियार दिन बन्द गर’ र ‘नरसंहार अन्त्य गर’ लेखिएका ब्यानरसहित सडकमा प्रदर्शन गरेका थिए ।
महासभामा नेतान्याहुले भाषण सुरु गरेलगत्तै दर्जनौँ देशका प्रतिनिधि बाहिरिएका थिए । आफ्नो सम्बोधनमा उनले हालै इजरायलको आलोचना गरेका मित्र तथा शत्रु राष्ट्रहरूको कडा आलोचना गरे । प्यालेस्टाइनलाई राज्यको मान्यता दिने निर्णय गरेका बेलायत र फ्रान्सप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे ।
‘द रकी हरर पिक्चर शो’, ‘डेड म्यान वाकिङ’ र ‘द विचेज अफ ईस्टविक’ लगायत चलचित्रमा अभिनय गरेकी सारन्डन गाजामा इजरायलको युद्धविरुद्धका प्रदर्शनमा सहभागी हुँदै आएकी छिन् ।
उनले यसै महिना भेनिस फिल्म फेस्टिभलमा पत्रकारहरूसँग कुरा गर्दै आफ्ना राजनीतिक अभिव्यक्तिका कारण आफूले चलचित्रमा काम गुमाइरहेको बताएकी थिइन् ।
सारन्डनले आफ्ना विचारका कारण केही एजेन्सीले आफूलाई काम नदिन आग्रह गरेको बताउँदै चलचित्र क्षेत्रमा अझै पनि ‘जायोनिस्टहरूको बलियो प्रभाव’ रहेको दाबी गरेकी थिइन् ।
साथै, उनले आफ्नो परिवार र समर्थकहरूबाट आफूले सहयोग पाइरहेको बताएकी थिइन् ।

प्रतिक्रिया