इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा


तेहरान। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘ध्वस्त’ पार्ने चेतावनी दिएपछि इरानी सशस्त्र बलले उनका अभिव्यक्तिलाई ‘प्रचारको औजार’ भन्दै अमेरिकी सेनालाई क्षेत्रमा चेतावनी दिएको छ ।

इरानी सशस्त्र बल र खताम अल–अन्ब्या केन्द्रीय मुख्यालयका जनरल स्टाफले विज्ञप्तिमार्फत ट्रम्पका पटक पटकका धम्कीले इरानविरुद्धको अमेरिकी कारबाहीमा देखिएको रणनीतिक गतिरोध प्रतिबिम्बित गर्ने दाबी गरेका छन् । अमेरिकी सेनामा थकान देखिएका बेला यस्ता धम्की दोहोर्‍याउनुले शक्ति प्रदर्शन नभई रणनीतिक निराशा झल्काउने उनीहरूको भनाइ छ ।

विज्ञप्तिमा अमेरिकाले पश्चिम एसियामा खतरा, असुरक्षा र अस्थिरता बढाएको आरोप लगाउँदै इरानविरुद्धका सैन्य कारबाही तथा समुद्री गतिविधिमा असफलता लुकाउन विश्व अर्थतन्त्रमाथि दबाब सिर्जना गर्न खोजेको दाबी गरिएको छ । ट्रम्पका अभिव्यक्तिले शक्ति सन्तुलन परिवर्तन गर्न नसक्ने पनि इरानी सेनाले जनाएको छ ।

यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेस्कियान संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार न्युयोर्क पुगेका छन् उनले अन्तर्राष्ट्रिय मञ्चमा इरानको धारणा सशक्त रूपमा प्रस्तुत गर्दै विगतका वार्ता र सम्झौतामा गरिएका प्रतिबद्धता पूरा नभएको विषय उठाउने बताएका छन् ।

यसअघि राष्ट्रपति ट्रम्पले महासभालाई सम्बोधन गर्दै इरानसँग सम्झौता नभए इस्लामिक गणतन्त्रलाई ‘ध्वस्त’ पार्ने चेतावनी दिएका थिए । उनले इरानबाट पुनः आक्रमण हुन नदिन कडा कदम चाल्नुपर्ने बताउँदै चुनावपछि इरानसँग सम्झौता हुनसक्ने विश्वाससमेत व्यक्त गरेका थिए ।