ट्रम्पको दाबीले प्रजातन्त्रको अवमूल्यनः ओबामा
अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले गत साता सम्पन्न राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्ने राष्ट्रपति डोनल्ड ट्रम्पको आधारहीन दाबीको समर्थन गरेर वरिष्ठ रिपब्लिकनहरूले प्रजातन्त्रको अवमूल्यन गरिरहेको टिप्पणी गरेका छन् ।
सीबीएस न्यूजमा आगामी आइतवार प्रसारण हुने एउटा अन्तर्वार्तामा ओबामाले जो बाइडन यो निर्वाचनमा ’स्पष्ट रूपमा विजयी’ भएको बताएका छन् । अमेरिकी सञ्चारमाध्यमहरूले गत साता गरेको मतगणना परिणामको प्रक्षेपणमा बाइडन निर्वाचित भएको देखिएको छ । तर अझै केही राज्यमा मतगणना जारी छ । मतदानमा धाँधली भएको भन्दै ट्रम्पले धेरैतिर मुद्दा हालेका छन् ।
तर उनको टोलीले त्यस्तो दाबी पुष्टि गर्ने कुनै प्रमाण देखाएका छैनन् । ट्रम्पले पराजय बेहोर्न नचाहेको हुँदा उनले मतगणनाबारे अनर्गल दाबी गरेको ओबामाले आरोप लगाए । ओबामाको दोस्रो कार्यकाल सकिएपछि ट्रम्प राष्ट्रपति निर्वाचित भएका थिए । यो निर्वाचन सकिएपछि ओबामा पहिलो पटक बोलेका हुन् ।