अमेरिकी कूटनीतिज्ञहरू चङ्गदुस्थित वाणिज्य दूतावास छोड्दै
चीनको दक्षिण पश्चिमी शहर चङ्गदुस्थित अमेरिकी वाणिज्य दूतावासका कूटनीतिज्ञहरू त्यहाँबाट बाहिरिन लागेका छन् । बन्द गर्नुपर्ने सोमबार बिहानसम्मको समयसीमाभन्दा केही घण्टाअघि कर्मचारीहरूले बक्स फाइल र फोहोर राखिएका झोला बोकेको देख्न सकिन्छ । वाणिज्य दूतावास भवनबाहिर स्थानीय बासिन्दाको भिड लागेको थियो ।
उनीहरूमध्ये धेरैले चिनियाँ राष्ट्रिय झण्डा बोकिरहेका छन् भने कतिपयले सेल्फी लिइरहेका छन् । अमेरिकाले गत हप्ता टेक्ससको ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावासलाई बन्द गर्न लगाएको प्रतिक्रिया स्वरूप चीनले अमेरिकी वाणिज्य दूतावासलाई पनि बन्द गर्न भनेको हो । जानका लागि चिनियाँ कूटनीतिज्ञहरूलाई दिइएको ७२ घण्टे म्याद शुक्रवार सकेपछि अमेरिकी अधिकारीहरू वाणिज्य दूतावास भवनभित्र छिर्नका लागि ढोका खोल्न लगाएको संवाददाताहरूले देखेका थिए ।
बेइजिङले बौद्धिक सम्पत्ति चोर्नका लागि आफ्नो वाणिज्य दूतावासको प्रयोग गरिरहेकोले बन्द गराउने आदेश दिइएको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ्ग वेनबिनले अमेरिकी कदम चीनविरोधी झूटहरूको मिश्रण भएको प्रतिक्रिया दिए । चीन सँगको व्यापार तथा कोरोनाभाइरस महामारी, हङ्कङमा लागु गरिएको विवादास्पद सुरक्षा कानुन लगायतका विषयलाई लिएर चीन र अमेरिकाबीच तनाव बढ्दो छ ।
अमेरिकी वाणिज्य दूतावासबाट लरीहरू बाहिरिँदै गरेका र कर्मचारीहरू कूटनीतिक चिह्नहरू हटाइरहेका तस्वीर चिनियाँ सरकारी सञ्चारमाध्यमले देखाएका छन् । अप्रिय घटना नहोस् भनेर वाणिज्य दूतावास भवनबाहिर दर्जनौँ चिनियाँ प्रहरी खटेका छन्। रमिता हेरिरहेका मानिसहरूलाई उनीहरूले हट्न भनिरहेका छन् । यद्यपि वाणिज्य दूतावासबाट एउटा बस बाहिरिँदा मानिसहरूले गिज्याइरहेको आवाज सुनिएको समाचार संस्था एएफपीले जनाएको छ ।
गत हप्ता ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावासबाट चीनका कूटनीतिज्ञहरू बाहिरिँदा प्रदर्शनकारीहरूले उनीहरूलाई गिज्याएका थिए । सन् १९८५ मा स्थापित चङ्गदुस्थित अमेरिकी वाणिज्य दूतावासमा दुई सयभन्दा बढी स्थानीय कर्मचारी नै कार्यरत थिए ।
चङ्गदुस्थित वाणिज्य दूतावास बन्द भएपछि चिनियाँ मुख्य भूभागमा चारवटा अमेरिकी वाणिज्य दूतावास र बेइजिङस्थित दूतावास बाँकी रहनेछ । विगतमा फ्रान्सको उपनिवेश रहेको हङ्कङमा पनि अमेरिकी वाणिज्य दूतावास रहेको छ । गत हप्ता टेक्ससको ह्युस्टनस्थित वाणिज्य दूतावास बन्द गराइएपछि अमेरिकामा चीनका चारवटा वाणिज्य दूतावास र वाशिङ्गटन डीसीमा दूतावास बाँकी रहेको छ ।