चीन अमेरिकाका लागि सबैभन्दा ठूलो खतरा
अमेरिकाको गुप्तचर निकाय एफबीआईका निर्देशकले गुप्तचरी र चोरीका कारण चीन सरकार अमेरिकाका लागि सबैभन्दा ठूलो र दीर्घकालीन खतरा भएको दाबी गरेका छन् । वाशिङ्टनस्थित हड्सन इन्स्टिट्यूटमा बोल्दै क्रिस्टोफर रेले चीनका विभिन्न गतिविधिबारे टिप्पणी गरेका हुन् ।
चीनले विदेशमा बसोबास गर्ने चिनियाँ नागरिकलाई तारो बनाएको, उनीहरूलाई स्वदेश फर्किन दबाव दिएको र कोरोनाभाइरससम्बन्धी अमेरिकी अनुसन्धानमा बाधा पुर्याउन खोजेको आरोप उनले लगाए । उनले चीन जसरी पनि विश्वको एक मात्र शक्तिशाली राष्ट्र बन्न पूरै राज्यसंयन्त्र प्रयोग गरेर प्रयास गरिरहेको बताए । एफबीआई निर्देशकले चिनियाँ हस्तक्षेप, आर्थिक गुप्तचरी, तथ्याङ्क र पैसा चोरी तथा घुस र दबावमार्फत् अमेरिकी नीतिलाई प्रभावित गर्ने अवैध गतिविधिबारे वर्णन गरे ।
उनले भने, ‘हामी अहिले यस्तो बिन्दुमा पुगेका छौँ जहाँ एफबीआईले प्रत्येक १० घण्टामा चीनसम्बन्धी एउटा प्रतिजासुसी मुद्दा हेर्छ ।’ उनले देशभरिका झन्डै ५ हजार वटा प्रतिजासुसी मुद्दामध्ये आधाजति चीनसँग सम्बन्धित रहेका उनले बताए ।
चीनका लागि खतरा मानिने विदेशमा बसोबास चिनियाँलाई लक्षित गर्दै चिनियाँ राष्ट्रपति सी जिन्पिङको नेतृत्वमा “फक्स हन्ट” नामक कार्यक्रमको सञ्चालित भएको उनको दाबी छ।तर चीनले आफ्नो योजनाको प्रतिरक्षा गर्दै त्यो भ्रष्टाचारविरोधी प्रयास भएको बताउने गरेको छ। कोरोनाभाइरस महामारी फैलिएको विषयदेखि चीनले हङ्कङमा लागु गरेको नयाँ सुरक्षा कानुनसम्म विविध विषयमा अमेरिकाले चीनको आलोचना गर्दै आएको छ।