काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ परेका छन् । प्रहरीका अनुसार गएराति ११ः१५ बजे क्याथे प्यासिफिक एयरलाइन्समार्फत हङकङबाट काठमाडौं आएका उनीहरूलाई शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा सुन बरामद गरिएको हो ।
भन्सार क्षेत्र पार गरी बाहिर निस्कने क्रममा जाँच गर्दा उनीहरूले मलद्वार तथा भित्री वस्त्रमा प्लास्टिकले बेरेर लुकाएको गोलाकार अर्धठोस पदार्थ आठ थान फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा चीनको ग्वाङडोङ निवासी ४५ वर्षीया लिन लिना रहेकी छन् । उनको साथबाट १ किलो ३४० ग्राम बरामद भएको छ ।
त्यस्तै, ग्वाङडोङकै ३५ वर्षीया लिन सिनपिङको साथबाट १ किलो ८ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै महिलालाई आवश्यक अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया