बाढी पहिरोबाट बागमती प्रदेशमा पाँच जनाको मृत्यु, २३ बेपत्ता
काठमाडौं । अविरल वर्षापछि आएको बाढी पहिरोबाट वागमती प्रदेशमा २३ जना वेपत्ता भएका छन् भने पाँच जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी बेपत्ता र मृत्यु भएका सबै सिन्धुपाल्चोक जिल्लाको रहेका प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए ।
शुक्रवार प्रदेश सभाको छैटौं अधिवेशनमा प्रदेशको अवस्थाबारे जानकारी दिँदै मन्त्री जम्कट्टेलले सिन्धुपाल्चोकको बाह्रबिसे गाउँपालिकास्थित जम्बुमा बाढी आउँदा तीन जनाको मृत्यु भएको थियो भने २० जना बेपत्ता रहेका बताए । त्यसैगरी भोटेकोशी गाउँपालिकामा आएको बाढी पहिरोका कारण २ जनाको मृत्यु र ३ जना बेपत्ता छन् ।
बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई प्रदेश सरकारले यसअघि नै एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरिसकेको उनले बताए । उनले बाढी पहिरोपछिको उद्धार र राहत कार्यको लागि प्रदेश सरकार तयारी अवस्थामा रहेको बताए ।