नेपाल–ब्राजिलबीच कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा


काठमाडौँ । नेपाल र ब्राजिलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले एक–अर्कालाई बधाई सन्देश आदानप्रदान गरेका छन् । नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र ब्राजिलका विदेशमन्त्री माउरो भिएराले कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवका अवसरमा बधाई सन्देश आदानप्रदान गरेका हुन्।

ब्रासिलियास्थित नेपाली दूतावासका अनुसार उक्त अवसरमा दुवै मन्त्रीहरू सन्देश आदानप्रदानका क्रममा नेपाल–ब्राजिल सहकार्य र साझेदारीलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्दै द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र गहिरो बनाउँदै लैजानेमा दुवै मन्त्रीहरूले जोड दिएका छन् ।

नेपालको परराष्ट्र मन्त्रालय र ब्राजिलको विदेश मन्त्रालयले द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) को आगामी बैठकको तयारी गरिरहेका छन्। उक्त बैठक नेपाल सरकारले काठमाडौंमा आयोजना गर्नेछ। दुवै मन्त्रीहरूले दुई देशका राजधानीमा रहेका कूटनीतिक नियोगहरूले साझा एजेन्डा अघि बढाउन खेलेको भूमिकाको समेत प्रशंसा गरेका थिए ।

आफ्नो सन्देशमा परराष्ट्रमन्त्री खनालले ब्राजिलले सामाजिक तथा आर्थिक क्षेत्रमा हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै जलवायु परिवर्तनको एजेन्डामा ब्राजिलले देखाएको नेतृत्वको सराहना गरेका छन् । उनले ग्लोबल साउथको आवाजलाई बलियो बनाउन ब्राजिलले खेलेको भूमिकाको समेत प्रशंसा गरेका छन् ।

मन्त्री खनालले नेपाल र ब्राजिलबीच द्विपक्षीय तथा बहुपक्षीय दुवै मञ्चमा सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। उनले जलवायु अनुकूलन तथा उत्थानशीलता, दिगो विकास, जलवायु वित्त, प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य थप मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्। उनले भनेका छन्, ‘नेपाल–ब्राजिल सहकार्य र साझेदारीलाई थप उचाइमा पुर्याउँछौं।’

ब्राजिलका विदेशमन्त्री माउरो भिएराले पनि नेपाल र ब्राजिलबीच मित्रता, पारस्परिक विश्वास तथा साझा मूल्यमा आधारित बलियो साझेदारी रहेको बताएका छन् । उनले दुई देशबीच द्विपक्षीय सहकार्य सुदृढ हुँदै गएकोमा सन्तोष व्यक्त गरे । भिएराले नेपालको दुग्ध क्षेत्रमा ब्राजिलको सहयोगमा सञ्चालन भइरहेको विकास परियोजनालाई दुई देशबीचको सहकार्यको उदाहरणका रूपमा उल्लेख गरेका छन् । ब्राजिलको सहयोग एजेन्सीको समर्थनमा उक्त परियोजना अघि बढिरहेको छ।

उनले नेपाल र ब्राजिल ग्लोबल साउथका सक्रिय आवाज भएको उल्लेख गर्दै बहुपक्षीयता, न्यायपूर्ण तथा शान्तिपूर्ण अन्तर्राष्ट्रिय व्यवस्था र जलवायु कार्यका लागि दुवै देश प्रतिबद्ध रहेको बताएका थिए । नेपाल र ब्राजिलबीच सन् १९७६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । नेपालले सन् २०१० मा ब्राजिलको राजधानी ब्रासिलियामा आवासीय दूतावास स्थापना गरेको थियो। उक्त दूतावास ल्याटिन अमेरिकामा नेपालको एक मात्र कूटनीतिक नियोग हो।

त्यसको एक वर्षपछि ब्राजिलले काठमाडौंमा आफ्नो आवासीय दूतावास स्थापना गरेको थियो। काठमाडौंमा रहेको ब्राजिलको दूतावास पनि नेपालमा रहेको एक मात्र ल्याटिन अमेरिकी कूटनीतिक नियोग हो । द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) दुई देशबीचका द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय विषयमा छलफल गर्ने महत्वपूर्ण मञ्च हो। यसको पछिल्लो बैठक सन् २०१८ मा ब्रासिलियामा भएको थियो।