बीबीसी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस–युक्रेन युद्ध अन्त्यका लागि भइरहेको शान्ति वार्तामा अमेरिकाले रुसमाथि पर्याप्त दबाब दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
बीबीसीसँगको अन्तर्वार्तामा जेलेन्स्कीले अमेरिकाले मध्यपूर्वमा बढी ध्यान केन्द्रित गर्दा युक्रेनलाई आवश्यक सहयोगमा ढिलाइ भइरहेको र रुसमाथि दबाब बढाउने प्रयास कमजोर भएको बताएका हुन् ।
उनले ब्यालिस्टिक क्षेप्यास्त्र रोक्न प्रयोग हुने अत्यावश्यक प्रतिरक्षा प्रणालीको आपूर्तिमा भएको ढिलाइले युक्रेनी नागरिकको ज्यान जोखिममा परेको बताए ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अँगालो हालेको तस्बिर सार्वजनिक गर्दै उनलाई ‘मेरो मित्र’ भनेको विषयमा पनि जेलेन्स्कीले असन्तुष्टि जनाए ।
‘यो अनौठो छ,’ उनले भने, ‘उनी आक्रमणकारी र हत्यारा हुन् । उनी मित्र हुन सक्दैनन् ।’ दोस्रो विश्वयुद्धका बेला एडोल्फ हिटलरसँग मित्रता रहेको भन्नुजस्तै भएको उनको टिप्पणी थियो ।सन् २०२५ मा ह्वाइट हाउसमा ट्रम्पसँग भएको तनावपूर्ण भेटपछि जेलेन्स्कीले अमेरिकासँगको सम्बन्धलाई सन्तुलित राख्ने प्रयास गर्दै आएका छन् ।
ट्रम्पका दुई विशेष दूतले रुस र युक्रेनबीच युद्ध अन्त्यका लागि शान्ति सम्झौताको पहल गरिरहेका छन् । तर, उनीहरूका कतिपय धारणा मस्कोको अडानसँग बढी नजिक देखिएको जेलेन्स्कीको असन्तुष्टि छ ।
यसै महिनाको सुरुमा अबुधाबीमा भएको पछिल्लो शान्ति वार्तामा पनि उल्लेखनीय प्रगति हुन सकेन । ‘जति धेरै कुरा थाहा हुँदै जान्छ, त्यति नै समस्या बढ्दै जान्छन्,’ जेलेन्स्कीले वार्ताको अवस्थाबारे भने ।
उनका अनुसार आगामी डिसेम्बरमा पुनः वार्ता हुने अपेक्षा गरिएको छ । यद्यपि, अमेरिकाले घोषणा गरेअनुसार युरोपेली वार्ताकारहरू पनि छलफलमा सहभागी हुने वा नहुने अझै स्पष्ट भइसकेको छैन ।
यसैबीच, ट्रम्पले बिहीबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत चीनमा पुटिनसँग भएको शिखर बैठकमा रुसलाई युरोपभरका क्षेत्रमा सैन्य आक्रमण रोक्न आग्रह गरेको बताएका थिए । उनले युक्रेनसँग शान्ति सम्झौता हुने सम्भावना बलियो रहेको दाबीसमेत गरेका थिए ।
तर क्रेमलिनका सार्वजनिक अभिव्यक्तिले रुस आफ्नो प्रारम्भिक कठोर वार्ता अडानबाट पछि हट्न तयार नरहेको संकेत गरेको छ । यसले युद्ध अन्त्यका लागि भइरहेको कूटनीतिक प्रयास थप जटिल बनेको छ ।

प्रतिक्रिया