दक्षिण कोरियामा ब्याजदर दुई वर्षयताकै उच्च, बढ्यो आर्थिक वृद्धिको प्रक्षेपण


सियोल । दक्षिण कोरियाको केन्द्रीय बैङ्कले मुद्रास्फीतिको दबाब नियन्त्रण गर्ने उद्देश्यले बिहीबार ब्याजदर २५ आधार बिन्दुले बढाएर ३.२५ प्रतिशत पुर्‍याएको छ । यो दुई वर्षयताकै उच्च ब्याजदर हो ।

केन्द्रीय बैङ्कले अगस्टपछि पहिलोपटक ब्याजदर वृद्धि गरेको हो । उपभोक्ता मूल्यवृद्धि दर दुई प्रतिशतको लक्ष्यभन्दा माथि रहेपछि ब्याजदर बढाउने निर्णय गरिएको बैङ्कले जनाएको छ ।

गत महिना दक्षिण कोरियाको उपभोक्ता मूल्य सूचकाङ्क २.८ प्रतिशत पुगेको थियो । खाद्य तथा ऊर्जा क्षेत्रको मूल्य उतारचढावलाई हटाएर गणना गरिने मूल मुद्रास्फीति दर पनि २.८ प्रतिशत नै रहेको थियो ।

यसैबीच, कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विश्वव्यापी माग बढेसँगै सेमिकन्डक्टर निर्यातमा भएको वृद्धिका कारण केन्द्रीय बैङ्कले आर्थिक वृद्धिको प्रक्षेपणसमेत बढाएको छ । बैङ्कले दक्षिण कोरियाको अर्थतन्त्र सन् २०२६ मा ३.९ प्रतिशत र सन् २०२७ मा ४.१ प्रतिशतले विस्तार हुने अनुमान गरेको छ ।

‘मध्यपूर्वमा तनाव कायमै रहे पनि एआई क्षेत्रमा भइरहेको बलियो लगानीका कारण विश्व अर्थतन्त्रले ठोस वृद्धि कायम राख्ने अपेक्षा गरिएको छ,’ केन्द्रीय बैङ्कले जनाएको छ ।

यद्यपि, ऊर्जा मूल्यमा भएको वृद्धिले अर्थतन्त्रका विभिन्न क्षेत्रमा प्रभाव पार्न थालेकाले मुद्रास्फीतिको दबाब केही समय कायम रहने बैङ्कको प्रक्षेपण छ ।

सामसङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सजस्ता विश्वका प्रमुख चिप निर्माता कम्पनी रहेको दक्षिण कोरियाले यसै महिना पहिलोपटक वार्षिक निर्यात एक ट्रिलियन अमेरिकी डलर नाघेको घोषणा गरेको थियो । एआई प्रविधिको विस्तारसँगै सेमिकन्डक्टरको माग बढ्दा निर्यातमा उल्लेख्य वृद्धि भएको हो ।

केन्द्रीय बैङ्कका अनुसार चिप उद्योगको विस्तारले निर्यात र लगानी वृद्धिलाई निरन्तरता दिनेछ भने आम्दानी तथा सरकारी खर्चमा हुने वृद्धिले आन्तरिक उपभोगमा क्रमिक सुधार ल्याउने अपेक्षा गरिएको छ ।

तर, भविष्यको आर्थिक वृद्धिदर सेमिकन्डक्टर उद्योगको विस्तारले घरेलु अर्थतन्त्रमा पार्ने प्रभाव र मध्यपूर्वको अवस्थालगायतका विषयमा निर्भर रहने बैङ्कले जनाएको छ । यस विषयमा केन्द्रीय बैङ्कका गभर्नर शिन ह्युन–सोङले बिहीबार पत्रकार सम्मेलनमार्फत थप जानकारी दिने कार्यक्रम छ ।