-डा. गोविन्दशरण उपाध्याय ।
१. दार्शनिक हुनु भनेको के हो ?
आजभोलि दर्शनशास्त्र पढेका व्यक्ति वा पढ्दै गरेका विद्यार्थीलाई अचम्मको नजरले बुझिन्छ । सत्य के हो भने दार्शनिक पनि साधारण मान्छे हुन्छ तर जीवन-जगतप्रतिको बुझाई भने केही फरक हुन्छ । सत्य, तर्क, न्याय, मूल्य तथा जीवनको लक्षका विषयमा तीब्र जिज्ञासा राख्ने व्यक्ति साच्चिकै केही फरक हुनैपर्छ । दार्शनिक हुनु भनेको दर्शनशास्त्रका पुस्तकहरू पढ्नु, केही कठिन शब्द कण्ठ गर्नु वा प्लेटो, कान्ट, शङ्कराचार्य र बुद्धका विचार उदृत गर्न सक्नु मात्र होइन । दार्शनिक हुनु मूलतः एउटा जीवन-दृष्टि हो । संसारलाई सबैले हेर्छन्, तर दार्शनिकले देखिएको वस्तुभन्दा पछाडिको अर्थ खोज्छ । साधारण मानिसले घटना देख्छ, दार्शनिकले घटनाको कारण सोध्छ । उसले जन्म देख्छ र जीवनको अर्थ खोज्छ; मृत्यु देख्छ र अस्तित्वको प्रश्न उठाउँछ; सुख खोजिरहेको मानिस देख्छ र सोध्छ-=सुख आखिर के हो ? त्यसैले दार्शनिक हुनु कुनै पद होइन, प्रश्न, विवेक, सत्य र जीवनप्रति अपनाइने विशेष बौद्धिक तथा नैतिक दृष्टिकोण हो ।
२. दर्शन : ज्ञान होइन, ज्ञानप्रतिको प्रेम
अङ्ग्रेजीको Philosophy शब्द ग्रीक philo अर्थात् प्रेम र sophia अर्थात् प्रज्ञा वा wisdom बाट बनेको हो । त्यसैले यसको मूल अर्थ नै “प्रज्ञाप्रतिको प्रेम” हो । दार्शनिक आफूलाई सबै कुरा थाहा भएको मानिस ठान्दैन; बरु सत्यप्रति प्रेम भएकाले निरन्तर बुझ्न खोज्ने व्यक्ति हो । आधुनिक दर्शन-अध्ययनमा पनि wisdom लाई केवल सूचना वा तथ्यको भण्डार नभई ज्ञान, सही निर्णय, बौद्धिक विनम्रता र विवेकपूर्ण व्यवहारसँग जोडेर बुझिन्छ । यस अर्थमा धेरै कुरा जान्ने व्यक्ति विद्वान् हुन सक्छ, तर आफ्नो ज्ञानको सीमा बुझ्ने, प्रमाण खोज्ने र जीवनमा विवेक प्रयोग गर्ने व्यक्ति दार्शनिक बन्ने दिशामा अघि बढेको हुन्छ ।
३. भारतवर्षीय ‘दर्शन’ : हेर्नु मात्र होइन, यथार्थलाई देख्नु
भारतवर्षीय परम्पराको “दर्शन” शब्द अझ सुन्दर छ । संस्कृत परम्परामा दर्शन को मूल आशय “देख्नु”, “दृष्टि” वा यथार्थलाई विशेष दृष्टिले अवलोकन गर्नु हो । भारतवर्षीय दर्शनका न्याय, वैशेषिक, सांख्य, योग, मीमांसा र वेदान्तजस्ता परम्परालाई त्यसैले दर्शन भनिएको हो-किनकि तिनले अस्तित्वलाई हेर्ने पृथक् दृष्टिकोण प्रस्तुत गर्छन् । यस अर्थमा दार्शनिक केवल विचार गर्ने व्यक्ति होइन, हेर्ने तरिका परिवर्तन भएको मानिस हो । एउटै जीवनलाई कसैले केवल रोजगारी, धन र प्रतिष्ठाको माध्यम ठान्छ । दार्शनिकले यही जीवनभित्र सत्य, कर्तव्य, स्वतन्त्रता, आत्मा, दुःख, आनन्द र अन्तिम उद्देश्यको खोजी गर्छ । दर्शन आँखाको दृष्टि होइन; चेतनाको दृष्टि हो ।
४. दार्शनिक प्रश्नबाट जन्मिन्छ
दार्शनिकताको पहिलो चिन्ह उत्तर होइन, प्रश्न हो । बालकले निरन्तर “किन ?” सोध्छ । उमेर बढ्दै जाँदा धेरै मानिस प्रश्न गर्न छोड्छन् र समाजले दिएको उत्तर स्वीकार गर्न थाल्छन् । दार्शनिक भने यहीँबाट फरक हुन्छ । उसले सोध्छ-म जसलाई सत्य ठानिरहेको छु, त्यो साँच्चिकै सत्य हो कि परम्पराले दिएको विश्वास मात्र हो ? मैले जसलाई राम्रो भनिरहेको छु, त्यो किन राम्रो हो ? न्यायको आधार के हो ? ईश्वर हुनु वा नहुनुको प्रमाण के हो ? चेतना शरीरकै उत्पादन हो कि स्वतन्त्र सत्ता ? यस्ता प्रश्नबाटै दर्शन जन्मन्छ । प्लेटोका संवाददेखि भारतीय प्रमाणशास्त्रसम्म दार्शनिक परम्पराले प्रश्न, तर्क, प्रतिपक्ष र परीक्षणलाई ज्ञानप्राप्तिको मूल साधन मानेको देखिन्छ ।
५. सुकरात : आफैँलाई परीक्षण गर्ने साहस
दार्शनिक जीवनको अत्यन्त प्रभावशाली नमुना सुकरात हुन् । उनले कुनै दर्शनको ठूलो ग्रन्थ लेखेनन्, तर मानिसहरूलाई प्रश्न गरे । न्याय के हो ? सद्गुण के हो ? साहस के हो ? राम्रो जीवन के हो ? उनी अरूको विचार मात्र परीक्षण गर्दैनथे, आफ्नो जीवनलाई पनि परीक्षणको विषय बनाउँथे । प्लेटोको अपोलोजीमा सुकरातसँग जोडिएको प्रसिद्ध विचार छ-परीक्षण नगरिएको जीवन मानिसका लागि सार्थक हुँदैन । सुकरातको जीवनकार्यले आफ्नै र अरूका जीवनको निरन्तर परीक्षणका रूपमा व्याख्या गर्छ । त्यसैले दार्शनिक हुनु भनेको अरूलाई प्रश्न गर्नु मात्र होइन, आफ्ना विश्वासलाई पनि कठघरामा उभ्याउन सक्नु हो ।
६. ‘मलाई थाहा छैन’ भन्न सक्ने बौद्धिक विनम्रता
दार्शनिकताको अर्को गम्भीर गुण बौद्धिक विनम्रता हो । सामान्यतः मानिसलाई “मलाई थाहा छैन” भन्न अप्ठ्यारो लाग्छ । हामी नजानेको विषयमा पनि धारणा बनाउँछौँ, सुनेका कुरा दोहोर्याउँछौँ र आफ्नो मतलाई सत्य ठान्छौँ । सुकराती प्रज्ञाको एउटा अर्थ यही हो—आफ्नो अज्ञानको बोध । आधुनिक दार्शनिक साहित्यमा यसलाई ज्ञानसम्बन्धी विनम्रताको रूपमा पनि व्याख्या गरिएको छ । वास्तवमा अज्ञान स्वीकार गर्नु कमजोरी होइन । “मलाई थाहा छैन, त्यसैले म खोज्छु” भन्ने व्यक्ति ज्ञानतर्फ जान्छ; “मलाई सबै थाहा छ” भन्ने व्यक्ति खोज्नै छोड्छ । दार्शनिक प्रश्नमा विनम्र हुन्छ, तर सत्यको खोजीमा साहसी हुन्छ ।
७. विश्वासभन्दा प्रमाणलाई महत्त्व दिनु
दार्शनिक हुनुको अर्थ सबै विश्वास अस्वीकार गर्नु होइन अपितु विश्वासको आधार सोध्नु हो । कुनै कुरा पुरानो भएकैले सत्य हुँदैन, नयाँ भएकैले पनि सत्य हुँदैन । धेरै मानिसले मानेका कारण मात्र कुनै धारणा प्रमाणित हुँदैन । भारतवर्षीय दर्शनमा प्रमाण सम्बन्धी अत्यन्त विकसित परम्परा छ । प्रत्यक्ष, अनुमान, शब्द आदिबाट यथार्थ ज्ञान कसरी उत्पन्न हुन्छ भन्ने विषयमा न्याय, मीमांसा, बौद्ध, वेदान्तलगायत विभिन्न दर्शनहरूले शताब्दीयौँसम्म गम्भीर बहस गरेका छन् । आधुनिक दर्शनशास्त्रको इतिहासले भारतवर्षीय प्रमाणशास्त्रलाई करिब दुई सहस्राब्दीसम्म फैलिएको समृद्ध ज्ञानमीमांसात्मक परम्पराका रूपमा वर्णन गर्छ । त्यसैले प्रमाण खोज्नु केवल आधुनिक विज्ञानको अभ्यास होइन । दर्शनको अत्यन्त पुरानो संस्कार हो ।
८. अरस्तु : कारणको पछाडि अर्को कारण खोज्नु
सामान्य दृष्टिले वर्षा भयो भने घटना समाप्त हुन्छ तर दार्शनिक दृष्टिले प्रश्न सुरु हुन्छ । किन भयो ? कारण के हो ? कारणको पनि कारण के हो ? अरस्तुले दर्शनलाई वस्तुहरूको प्रथम कारण र मूल सिद्धान्तको खोजीसँग जोडेका थिए । उनको तत्वशास्त्र मा प्रज्ञालाई प्राथमिक कारण र सिद्धान्तहरूको ज्ञानसँग सम्बन्धित गरिएको छ । यही दार्शनिक स्वभाव हो—सतहमा सन्तुष्ट नहुनु । मानिस रिसायो भने दार्शनिकले केवल रिस देख्दैन अपितु उसले मनोविज्ञान, इच्छा, अहम्, परिस्थिति र मूल्यको तह खोज्छ । युद्ध देख्दा गोली मात्र देख्दैन; सत्ता, भय, लोभ, विचारधारा र न्यायको प्रश्न पनि देख्छ । दर्शन घटनाभित्र लुकेको आधार खोज्ने अभ्यास हो ।
९. आफ्नै बुद्धि प्रयोग गर्ने स्वतन्त्रता
दार्शनिक परनिर्भर बुद्धिले बाँच्न सक्दैन । इमानुएल कान्टले सन् १७८४ को प्रसिद्ध निबन्ध What Is Enlightenment? मा “Sapere aude”-जान्ने साहस गर, आफ्नै समझ प्रयोग गर्ने साहस गर-लाई प्रबोधनको मूल मन्त्र माने । उनका लागि बौद्धिक परिपक्वता भनेको अरूको निर्देशनविना आफ्नै विवेक प्रयोग गर्न सक्षम हुनु हो । यसको अर्थ गुरु, शास्त्र वा परम्परालाई अपमान गर्नु होइन । दार्शनिक तिनलाई आदरपूर्वक सुन्छ तर आफ्नो बुद्धिलाई बन्द गर्दैन । गुरुको सम्मान गर्नु र गुरुले भनेका हरेक कुरा परीक्षणविना मान्नु एउटै कुरा होइन । साँचो गुरु पनि शिष्यले सोचोस् भन्ने चाहन्छ । दार्शनिक परम्पराबाट सिक्छ, तर आफ्नो विवेकको जिम्मेवारी अरूलाई सुम्पँदैन ।
१०. दार्शनिक हुनु र विवादप्रिय हुनु फरक कुरा हो
हाम्रो समाजमा कहिलेकाहीँ धेरै तर्क गर्ने, हरेक कुरामा विरोध गर्ने वा कठिन शब्द बोल्ने व्यक्तिलाई दार्शनिक ठानिन्छ । वास्तवमा विवाद जित्नु र सत्य खोज्नु फरक कुरा हुन् । विवादमा मानिस आफ्नो पक्ष जिताउन चाहन्छ तर दार्शनिक तर्कमा सत्यले जितोस् भन्ने चाहना हुन्छ । आफ्नै तर्क गलत प्रमाणित भयो भने त्यसलाई सच्याउन सक्ने साहस दर्शनको पहिचान हो । दार्शनिकको उद्देश्य प्रतिद्वन्द्वीलाई मौन बनाउनु होइन, विषयलाई स्पष्ट बनाउनु हो । प्लेटोका संवादहरूमा प्रश्नोत्तर, प्रतिप्रश्न र अवधारणाको परीक्षण यसै कारण महत्वपूर्ण छन् । प्लेटोको दार्शनिक परियोजनाले नैतिक, राजनीतिक, ज्ञानमीमांसात्मक र तत्त्वमीमांसात्मक प्रश्नहरूको कठोर तथा व्यवस्थित परीक्षणलाई दर्शनको प्रमुख स्वरूप प्रदान गरेको मानिन्छ ।
११. केवल बुद्धि होइन, जीवन पनि दार्शनिक हुनुपर्छ
दार्शनिकताको ठूलो परीक्षा कक्षाकोठामा होइन, जीवनमा हुन्छ । सत्यबारे भाषण गर्ने तर आफ्नो सुविधा अनुसार झुट बोल्ने मानिस दर्शनका शिक्षक हुन सक्छन्, दार्शनिक जीवनका साधक होइनन् । न्याय पढाउने तर अन्यायमा मौन रहने, नैतिकता पढाउने तर व्यवहारमा नैतिक जिम्मेवारी नलिने, वैराग्यको व्याख्या गर्ने तर सानो प्रतिष्ठा गुम्दा विचलित हुने अवस्थाले दर्शनलाई जीवनबाट अलग पार्छ । प्राचीन दर्शनमा दर्शन जीवन जिउने तरिकासँग गहिरो रूपमा जोडिएको थियो । सुकरातको प्रसिद्धि पनि उनको सिद्धान्तभन्दा जीवनका कारण बढी छ । उनको प्रश्न, मुकदमा र मृत्युसम्मको व्यवहार दार्शनिक जीवनको प्रतीक बनेको छ । दर्शन मुखमा मात्र होइन, चरित्रमा देखिन थाल्दा दार्शनिकता परिपक्व हुन्छ ।
१२. गीताको ‘स्थितप्रज्ञ’ र दार्शनिक व्यक्तित्व
भारतीय परम्पराले प्रज्ञालाई केवल तार्किक क्षमता मानेन; मनको स्थिरतासँग पनि जोड्यो । श्रीमद्भगवद्गीतामा अर्जुनले स्थितप्रज्ञ व्यक्तिको लक्षण सोध्दा कृष्ण भन्छन्— “प्रजहाति यदा कामान् सर्वान् पार्थ मनोगतान् । आत्मन्येवात्मना तुष्टः स्थितप्रज्ञस्तदोच्यते ॥” -गीता २.५५ अर्थात् मनमा उठ्ने सम्पूर्ण कामनाको अधीनता पार गरी आफूभित्रै सन्तुष्ट रहन सक्ने व्यक्तिलाई स्थिर प्रज्ञ भएको भनिन्छ । यो दार्शनिकताको अर्को तह हो । बुद्धि तीक्ष्ण हुनु पर्याप्त छैन; बुद्धिलाई लोभ, क्रोध, भय र अहङ्कारले जहाँतहीँ घिसारिरहेको छ भने ज्ञान अस्थिर हुन्छ । दार्शनिकता अन्ततः सोच्ने कला मात्र होइन, आफ्नो मनलाई बुझ्ने कला पनि हो । उपनिषद्हरूमा त झन् दार्शनिक प्रश्न र दार्शनिक व्यक्तित्व राइछाई छन् |
१३. दार्शनिक संसारबाट भाग्दैन
दार्शनिकलाई कहिलेकाहीँ संसारदेखि अलग, एकान्तमा बसेर अमूर्त प्रश्न सोच्ने मानिसका रूपमा चित्रण गरिन्छ । तर दर्शनको इतिहास यस्तो मात्र छैन । प्लेटोले न्यायपूर्ण राज्यको प्रश्न उठाए । अरस्तुले राजनीति र नैतिकता लेखे । कान्टले स्वतन्त्रता, नैतिक स्वायत्तता र सार्वजनिक विवेकको महत्त्व प्रतिपादन गरे । प्लेटोको गणतन्त्रमा त दार्शनिकले शासनसँग सम्बन्ध राख्नुपर्ने साहसिक प्रस्तावसमेत आएको छ-दर्शन र शासन अलग रहुन्जेल राजनीतिक समस्याहरू समाप्त नहुने उनको विचार थियो । त्यसैले दार्शनिक समाजबाट भाग्ने व्यक्ति होइन । ऊ समाजको भीडमा उभिएर सोध्छ-हामी जे गर्दैछौँ, त्यो न्यायपूर्ण छ ? मानवोचित छ ? र यसको परिणाम कहाँ पुग्छ ? वैदिक दर्शनमा धर्म, अर्थ, काम तथा मोक्षको विधानले संसारको पूर्ण उपयोगको विधि स्थापना गरेको छ |
१४. असहमति सहन सक्नु पनि दर्शन हो
आफ्नो विचारसँग सहमत मानिससँग संवाद गर्न सजिलो हुन्छ तर असहमत व्यक्तिलाई सुन्नु कठिन हुन्छ । तर दर्शन त्यही कठिन ठाउँबाट सुरु हुन्छ । दार्शनिकले व्यक्तिलाई होइन, विचारलाई परीक्षण गर्छ । हिन्दु, बौद्ध, जैन, आस्तिक, नास्तिक, अद्वैत, द्वैत, भौतिकवादी वा आदर्शवादी-विचार फरक हुन सक्छन् । भारतवर्षीय दर्शनको इतिहास स्वयं तीव्र मतभेदको इतिहास हो । विभिन्न दर्शनहरूले ज्ञानका स्रोत, आत्मा, ईश्वर, जगत् र मुक्तिबारे एकअर्कासँग गम्भीर बहस गरेका छन् । तर मतभेद हुनु दर्शनको कमजोरी होइन अपितु बौद्धिक संस्कृतिको शक्ति हो । आफ्नो विचारसँग असहमत व्यक्तिको तर्क सही भए स्वीकार गर्न सक्नु दार्शनिक चरित्रको सुन्दर लक्षण हो । उदाहरणका लागि भारतवर्षीय दार्शनिकहरूले चार्बाक दार्शनिक चिन्तनको कठोर आलोचना गरेका छन् तर त्यो आलोचनामा चार्वाकहरूलाई महत्वपूर्ण दार्शनिक विधाका रूपमा स्वीकार गरेका छन् ।
मानिस खान्छ, कमाउँछ, परिवार बनाउँछ, प्रतिष्ठा खोज्छ र एक दिन संसारबाट विदा हुन्छ । दर्शनले यही स्वाभाविक जीवनक्रमबीच एउटा असहज प्रश्न राख्छ—त्यसपछि
१५. दार्शनिक हुनु भनेको जीवनको अर्थ खोज्नु?
अथवा यी सबैको अर्थ के हो ? वैदिक दार्शनिक परम्परामा व्यक्तिको वास्तविक स्वरूप, दुःखको कारण र त्यसबाट मुक्ति कसरी सम्भव हुन्छ भन्ने प्रश्न अत्यन्त केन्द्रीय रहेको छ । विभिन्न दर्शनका उत्तर फरक भए पनि जीवनलाई केवल जैविक अस्तित्वभन्दा माथि उठाएर बुझ्ने प्रयत्न साझा देखिन्छ । यसैले दार्शनिक मृत्युको प्रतीक्षा गर्ने मानिस होइन; मृत्यु निश्चित छ भन्ने चेतनाले जीवनलाई अझ सचेत भएर बाँच्ने व्यक्ति हो । सीमित समयभित्र अर्थपूर्ण जीवन कसरी जिउने भन्ने प्रश्न दर्शनको जीवन्त प्रश्न हो ।
१६. विज्ञानले ‘कसरी’, दर्शनले ‘किन’ सोध्छ
विज्ञान र दर्शनलाई प्रतिस्पर्धी बनाउनु उचित हुँदैन । विज्ञानले प्रकृतिका प्रक्रियाहरू अद्भुत ढङ्गले व्याख्या गर्छ । मस्तिष्कमा के भइरहेको छ, ब्रह्माण्ड कसरी विस्तार भइरहेको छ, रोग कसरी उत्पन्न हुन्छ—यी प्रश्न विज्ञानका क्षेत्र हुन् । दर्शनले अर्को तह थप्छ-वैज्ञानिक ज्ञानको सीमा के हो ? चेतनाको अर्थ के हो ? प्रमाण भन्नाले के बुझिन्छ ? प्रविधिले गर्न सक्ने हरेक काम गर्न नैतिक रूपमा उचित हुन्छ ? ज्ञान र मूल्यबीच के सम्बन्ध छ ? बर्ट्रान्ड रसेलको दार्शनिक परियोजनामा “मानिसले केही जान्न सक्छ कि सक्दैन, सक्छ भने के र कसरी?” भन्ने प्रश्नलाई अत्यन्त आधारभूत दार्शनिक प्रश्न मानिएको पाइन्छ । दार्शनिक विज्ञानको विरोधी होइन अपितु ज्ञानको अर्थबारे प्रश्न गर्ने सहयात्री हो ।
१७. दार्शनिकको सबैभन्दा ठूलो शत्रु अहङ्कार हो
ज्ञान बढेपछि विनम्रता बढेन भने दर्शन विद्वत्ताको प्रदर्शन मात्र बन्न सक्छ । केही पुस्तक पढेर आफूलाई अरूभन्दा बुद्धिमान ठान्नु दर्शनको रोग हो । साँचो दार्शनिक जति गहिरो जान्छ, प्रश्नहरू त्यति विशाल देख्न थाल्छ । हिमालको तल उभिएको मानिसलाई चुचुरो नजिक देखिन सक्छ; चढ्दै जाँदा दूरी र कठिनाइ बुझिन्छ । ज्ञान पनि त्यस्तै हो । थोरै जान्ने मानिसलाई धेरै कुरा निश्चित लाग्न सक्छ तर गहिरो चिन्तकलाई प्रमाण, सीमा र वैकल्पिक व्याख्याहरू देखिन्छन् । त्यसैले दार्शनिक हुनु भनेको प्रत्येक विषयमा अन्तिम निर्णय सुनाउने मानिस बन्नु होइन । बरु कहाँ बोल्ने, कहाँ प्रश्न गर्ने र कहाँ “अहिलेसम्म मलाई थाहा छैन” भन्नुपर्ने हो, त्यो छुट्याउन सक्नु हो ।
१८. दार्शनिकता र करुणा
बुद्धिमान् भएर पनि मानिस क्रूर हुन सक्छ । त्यसैले परिपक्व दर्शनलाई मानवीय संवेदनासँग जोडिनुपर्छ । एउटा गरिबलाई हेरेर केवल “गरिबीको अवधारणा” बारे बहस गर्नु पर्याप्त हुँदैन अपितु उसको दुःख पनि देख्नुपर्छ । युद्धलाई केवल राजनीतिक सिद्धान्तको उदाहरण ठान्दा त्यहाँ रोइरहेको मानिस हराउन सक्छ । दर्शनले मानिसलाई अमूर्त अवधारणामा रूपान्तरण मात्र गर्नु हुँदैन अपितु विचारभित्र मान्छे बचाइराख्नुपर्छ । वैदिक, जैन तथा बौद्धदर्शनका धेरै धाराहरूले दुःखबाट मुक्तिको प्रश्नलाई केन्द्रमा राखेको तथ्य यस दृष्टिले उल्लेखनीय छ । साँचो दार्शनिकको विवेक तीक्ष्ण हुन्छ, तर हृदय कठोर हुँदैन । सत्यको खोजी र करुणाको अनुभूति मिल्दा दर्शन मानवीय बन्छ ।
१९. दार्शनिक बन्ने कुनै अन्तिम परीक्षा हुँदैन
विश्वविद्यालयले दर्शनशास्त्रमा प्रमाणपत्र दिन सक्छ, तर “दार्शनिक” हुने अन्तिम प्रमाणपत्र दिन सक्दैन । दर्शनमा स्नातकोत्तर वा विद्यावारिधि गरेको व्यक्ति दर्शनको विशेषज्ञ हुन सक्छ । दार्शनिक जीवन भने निरन्तर साधना हो । आफूले विश्वास गरेको कुरा फेरि परीक्षण गर्नु, विरोधी तर्क पढ्नु, नयाँ प्रमाण आए विचार संशोधन गर्नु, आफ्नो पूर्वाग्रह पहिचान गर्नु, शब्दको अर्थ स्पष्ट पार्नु, मानिसको पीडा बुझ्नु र आफ्नो व्यवहारमाथि प्रश्न उठाइरहनु-यी दैनिक अभ्यास हुन् । कान्टको आफ्नै बुद्धि प्रयोग गर्ने आह्वान, सुकरातको आत्मपरीक्षण र भारतीय प्रमाणपरम्पराको सत्यपरीक्षणलाई एकै ठाउँमा राख्दा दार्शनिकता कुनै स्थिर उपाधिभन्दा बढी निरन्तर बौद्धिक जागरणको प्रक्रिया देखिन्छ । महावीर, बुद्ध र वैदिक दर्शनका आचार्यहरूले निरन्तर दर्शनको अभ्यास गर्दै आएका थिए र आजको मितिमामा पनि ऋषि र महात्माहरूले स्थापना गरेका दार्शनिक धाराहरू सम्प्रदाय वा धार्मिक संघका रूपमा जीवन्त नै छन् ।
२०. निष्कर्ष : दार्शनिक हुनु भनेको जागा भएर बाँच्नु हो
अन्ततः दार्शनिक हुनु भनेको संसार छोड्नु होइन, संसारलाई पहिलेभन्दा गहिरो गरी बुझ्नु हो । अरूले सूर्यास्त देख्दा त्यसको सौन्दर्यसँगै समयको क्षणभङ्गुरता देख्नु, सफलता आउँदा उत्सवसँगै त्यसको अस्थायित्व सम्झनु, दुःख आउँदा पीडासँगै त्यसले सिकाउन सक्ने अर्थ खोज्नु, परम्परालाई सम्मान गर्दा पनि प्रश्न गर्न नछोड्नु; विज्ञान स्वीकार गर्दा पनि मूल्यको प्रश्न नबिर्सनु, धर्म मान्दा विवेक नत्याग्नु र विवेक प्रयोग गर्दा करुणा नहराउनु-यही दार्शनिक स्वभाव हो । दार्शनिक सबै उत्तर भएको मानिस होइन । ऊ सही प्रश्नसँग इमानदार भएर बाँच्ने मानिस हो । मेरो दृष्टिमा दार्शनिक हुनु भनेको संसारभन्दा पहिले आफ्नै चेतनालाई जागा राखेर जीवन जिउनु हो ।

प्रतिक्रिया