किएभ । रुसले युक्रेनसँग शान्तिवार्ता पुनः सुरु गर्न सैद्धान्तिक सहमति जनाएको केही घण्टामै युक्रेनको राजधानी किएभमा क्षेप्यास्त्र आक्रमण गरेको छ । बुधबार राति भएको आक्रमणमा छ जना घाइते भएका छन् भने कैयौँ घरमा क्षति पुगेको किएभका मेयर भिटाली क्लित्स्कोले बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयास अहिलेसम्मकै सबैभन्दा नजिक पुगेको बताइरहेका बेला आक्रमण भएको हो ।
ट्रम्पका विशेष दूत स्टिभ विटकफले बुधबार रुसको सेन्ट पिटर्सबर्गमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका थिए । त्यसअघि मंगलबार उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगै नर्वे र फिनल्यान्डका नेताहरूसँग नर्वेको राजधानी ओस्लोमा छलफल गरेका थिए ।
वार्तामा युक्रेनको सुरक्षा प्रत्याभूति बलियो बनाउने र ऊर्जा क्षेत्रमा आक्रमण रोक्ने प्रस्तावबारे छलफल भएको जेलेन्स्कीले बताएका छन् । यद्यपि, विटकफले पुटिनसमक्ष प्रस्तुत गरेका ठोस प्रस्तावबारे सार्वजनिक जानकारी दिइएको छैन ।
पुटिनका सहयोगी युरी उशाकोभले छलफलमा प्रस्तुत विचारहरू त्यति उपयोगी नभएको टिप्पणी गरेका छन् । उनले आगामी नोभेम्बर १० तिर संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा वार्ताको अर्को चरण हुन सक्ने संकेत गरेका छन् ।
उशाकोभका अनुसार पुटिनले रुसी सेना युद्धमोर्चाका सबै क्षेत्रमा अघि बढिरहेको र रुससँग रणनीतिक अग्रता रहेको दाबी पनि दोहो¥याएका छन् । तर, युक्रेन र उसका युरोपेली सहयोगीहरूले उक्त दाबी अस्वीकार गर्दै युद्धमोर्चामा लगभग गतिरोधको अवस्था रहेको बताएका छन् ।
रुस, युक्रेन र अमेरिकाबीच युद्ध अन्त्य गर्ने उद्देश्यले यसअघि भएका त्रिपक्षीय वार्ता गत फेब्रुअरीमा रोकिएका थिए । त्यसपछि रुसले युक्रेनमाथिको आक्रमण तीव्र बनाएको थियो । पश्चिमा मुलुकबाट प्राप्त क्षेप्यास्त्र प्रतिरोधी प्रणालीको अभावका कारण युक्रेनको प्रतिरक्षा क्षमतामा समेत दबाब परेको छ ।
रुसले सन् २०२२ मा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेको थियो । हाल रुसले युक्रेनको करिब २० प्रतिशत भूभाग नियन्त्रणमा राखेको छ । यसैबीच, जेलेन्स्कीले वर्तमान युद्धमोर्चाको अवस्थालाई यथावत् राखेर युद्धविराम गर्ने सम्झौता स्वीकार गर्न आफू तयार रहेको बताएका छन् ।
फक्स न्युजसँग कुरा गर्दै उनले युद्धविरामलाई तत्काल आवश्यक न्यूनतम कदमका रूपमा व्याख्या गरेका छन् । युद्ध रोकिएपछि युक्रेनको सुरक्षाका लागि आवश्यक प्रत्याभूतिबारे छलफल गर्न सकिने उनको भनाइ छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य गर्ने विषयमा पुटिनसँग निरन्तर छलफल गरिरहेको बताए पनि रुस–युक्रेन युद्ध अन्त्य गर्ने उनको प्रयास अहिलेसम्म सफल हुन सकेको छैन ।

प्रतिक्रिया