गगनजीको जस्तो १०–२० वटा दाह्री फुलेको, ५०–६० वटा कपाल फुलेको यो नेताले देश पक्कै बनाउँछ भन्ने विश्वास छः रेशम चौधरी


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको नेतृत्व गर्न सक्ने आफूलाई विश्वास रहेको बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिँदै चौधरीले गणतन्त्र स्थापनाका लागि संघर्ष गरेका थापाले अब देश निर्माणमा पनि नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

‘गगनले यो देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ,’ उनले भने, ‘जसले गणतन्त्र ल्याउन जुन भूमिका खेल्यो, अब यो देश बनाउन पनि अवश्य भूमिका खेल्नेछ।’

अब आधाआधि कपाल फुलेको गगन थापाहरूको पुस्ताले देश बनाउने विश्वास राखेको उनले बताए । उनले भने, ‘अब आधाआधि कपाल फुलेको, गगनजीको जस्तो १०–२० वटा दाह्री फुलेको, ५०–६० वटा कपाल फुलेको यो नेताले देश पक्कै बनाउँछ भन्ने विश्वास छ ।’

चौधरीले अहिलेको पुस्ताले पनि देश बनाउने छनक नदेखाएको बताए । हिजो सबै कपाल फुलेर आफूलाई युवा हुँ भन्ने नेताहरूले देश बिगारे भन्ने गरिएको भएपनि अहिले कैला जुंगा भएका, पूरै कपाल काला भएकाले पनि देश बनाउने छनक नदेखाएको उनले बताए । उनले भने,‘हिजो सबै कपाल फुलेर आफूलाई युवा हुँ भन्ने नेताहरूले देश बिगारे । अहिले कैला जुंगा भएका, पूरै कपाल काला भएकाले पनि देश बनाउने छनक देखाएका छैनन् ।

चौधरीले संविधान निर्माणमा नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै कांग्रेसमा आएको परिवर्तनले आफूमा विश्वास जागेको बताए।

उनले संविधानमा थारूलगायत समुदायका अधिकार लेखिए पनि व्यवहारमा अधिकार नदिइएको गुनासोसमेत गरे । ‘संविधानमा अधिकार लेखियो, तर दिइएन। पहिचानसँग साटफेर गर्न पाइँदैन,’ उनले भने ।