रेशम चौधरीले थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई चार दिन थुनामा राख्न अनुमति
काठमाडौँ । जिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौँले शुक्रवार चार दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ प्रहरीलाई अनुमति दिएको हो । बुधबार पक्राउ परेका विष्टलाई शुक्रबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न ‘अनधिकृत’ पत्र लेखेपछि उनी पक्राउ गरेका थिए । उनीविरुद्ध लिखत किर्ते कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विष्टले पदको दुरुपयोग गरी रेशमलाई पक्राउ गर्न डिल्लीबजार कारागारको नाममा पत्र पठाएका थिए । लगत्तै प्रहरीले नियन्त्रणमा लिएर रेशमलाई कारागार बुझाएको थियो ।
सर्वोच्चले महिमान विष्टको पत्र अनधिकृत भएको भन्दै रेशमलाई रिहा गर्न अर्को पत्र पठाएको थियो । त्यसपछि करिब साढे चार घण्टाको कारागार बसाइपछि रेशम थुनामुक्त भएका थिए । महिमानविरुद्ध तीन वटा कसुरमा अनुसन्धान अघि बढाइएको छ ।