खाद्यान्नहरूको आमसभा
डा. गोविन्दशरण उपाध्याय ।
एक दिन धान, गहुँ, मकैआदि खाद्यान्नहरू र फलफुलआदिको भेला भयो । विषय निकै गम्भीर थियो । मौसम परिवर्तन र जीन परिवर्तनका कारण खाद्यान्न, फलफुल तथा सागसब्जीहरूको प्राकृतिक जीवनचक्रमा गम्भीर समस्या आएको थियो । उपरोक्त भेलामा सबैले यसै वारे छलफल गर्ने र आफ्नो र मान्छेको अस्तित्व जोगाउने चिन्तन थियो ।
‘मान्छेहरू निकै जान्ने भए ! सृष्टिदेखि अहिलेसम्म मैले मान्छेलाई पाल्दै आएको थिएँ । आज उनीहरूले हाम्रो वंशलाई ‘खसी’ पारेर हाम्रो अस्तित्वलाई नै सङ्कटमा पारे । मौसम परिवर्तन र हाम्रो वदलिएको स्वरूपले अव हाम्रो बंश धेरै चल्लाजस्तो छैन । हामी मासियों भने यी मान्छे जोगिएलान् त ? – मकैले गम्भीर प्रश्न उठाएका थिए ।
‘हो, हाम्रो पनि ‘म्युटेशन’ भएको छ । मान्छेहरूले हाम्रो प्राकृतिक क्षमतासंग छेडखानी गरेका छन् । अव हाम्रो बंशको प्राकृतिक र मौलिक अस्तित्व भेट्टाउन गाह्रो छ । हाम्रा धेरै दाजुभाई जीन परिवर्तनका कारण प्रकृतिसंग टाढिएका छन् । सायद, अवको २० वर्षभित्र धान बंशको नाश नै हुने छ । यी ‘जान्ने’ मान्छेले आफ्नो र हाम्रो विनाश गर्ने भए । अव त फल्न पनि जाँगर लाग्दैन – धानले चिन्तित हुँदै भन्यो ।
‘हो, मान्छेले हाम्रो प्राकृतिक र मौलिक स्वरूपसंग छेडछाड गरेर राम्रो गरेका छैनन् । हाम्रो प्राकृतिक स्वरूप बिगारेको मितिबाट हाम्रो मौलिकता गुम्न थालेको छ, हाम्रो प्राकृतिक शक्ति गुम्न थालेको हो । मलाई लाग्छ, हाम्रो बंश पनि धेरै चले २० वर्ष अरू अगाडी बढ्ला । त्यसपपछि मान्छेले के खाएर बाँच्लान् ? हामीमा गरिएको म्युटेसन, मोड़ीफिकेशन, जीन–परिवर्तनले मान्छे पनि सुरक्षित रहन्न । हाम्रो बंश नाश गरेर मान्छे कसरी खुसी रहला – गहुँले गम्भीर हुँदै भयो ।
‘मान्छेको जनसंख्या बढ्यो भन्दैमा मान्छेले हाम्रो मौलिक स्वरूपमा परिवर्तन गर्नु गलत भयो । आज हाम्रो दालसमूहका सबै सदस्यहरूमा पुनःउत्पादनको ठूलो समस्या भएको छ । एकातिर मान्छेले प्रकृतिसँग ठूलै छल गरेर उसको चक्रमा धक्का पुर्याएका छन्, अर्कोतिर हाम्रो उत्पादन क्षमतामा गम्भीर क्षति पुगेको छ । सकेसम्म हामीले उत्पादन दिन्छौं तर हाम्रो प्राकृतिक क्षमता नै नष्ट भए पनि, मान्छेले रोप्दैमा हामी उम्रने र फल दिने वाला रहन्नौं – दालले बडो दुःखसँग भने ।
त्यो बैठकमा धेरैजसो खाद्यान्नहरूका प्रतिनिधि उपस्थित थिए । सबै प्रतिनिधिहरू मान्छेले तिनको मौलिक स्वरूपसँग छेडखान गरेको र मान्छेकै क्रियाकलापका कारण पर्यावरणमा आएको परिवर्तनप्रति चिन्तित थिए । अनि, आफुलाई निकै बुद्धिमान मान्ने मान्छेले आफ्नो कुरा नै नसुन्ने, ‘जान्नेछौँ, हामी जस्ता सुकै समस्याको पनि समधान गर्न सक्छौं’ भन्ने घमण्ड गर्नेहुँदा उनीहरूसंग बोलेर काम नलाग्ने निष्कर्षमा पुगेका थिए । त्यैपनि मान्छेप्रतिको माया भने मरेको थिएन ।
अन्त्यमा, सम्पूर्ण अन्नवाली, दलहन, फलफूल, सब्जीहरूले आगामी तीनवर्ष कुर्ने तर पनि मान्छे नसुध्रिए ‘मान्छेले जति रोपे पनि नफल्ने’ भन्ने निर्णय गरे र विश्वको सबैभन्दा प्राचीन खाद्यान्न जौले ‘मान्छेले हाम्रो प्राकृतिक स्वरूपसंग छेडखान नगरेसम्म उत्पादन दिने छौँ’ भन्दै सभा समाप्त गरे ।
यदि तीनवर्षपछि विश्वका सम्पूर्ण खाद्यान्नहरू, फलफुलहरू, सागसब्जीहरू उत्पादन हुन छोडेभने विश्वका मान्छेको तथाकथित ‘वैज्ञानिक उन्नति’को अहङ्कारको गति के होला ? मैले यही सोच्दैछु ।