सोमबारदेखि सार्वजनिक यातायात सञ्चालन हुने
काठमाडौं । यातायात व्यवसायीले उठाउँदै आएका माग मौद्रिक नीतिमार्फत सम्बोधन भएपछि यातायात व्यवसायी सवारी साधन संचालन गर्न सहमत भएका छन् । उनीहरुले सोमबारदेखि यातायात संचालन गर्ने भएका हुन् । आइतबार यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरुले सोमबारदेखि यातायात सञ्चालन गर्ने बताएका छन् ।
सार्वजनिक यातायात महासंघका वरिष्ठ उपाध्यक्ष किरण कुमार रिजालले व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीति मार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए । नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा व्यवसायीहरुका अधिकांश मागहरु सम्बोधन भएको उनले बताए ।
अहिले अन्तरजिल्लामा मात्रै यातायात सञ्चालन हुनेछन् । व्यवसायीहरुले लामो दुरीका सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको बताएका छन् । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले सोमबारदेखि व्यवसायीले यातायात सञ्चालन गर्ने बताए । यसअघि सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपनि व्यवसायी विभिन्न माग राख्दै सवारी संचालन गर्ने बताउँदै आएका थिए ।
कोरोना संक्रमणको जोखिम अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय भने अपनाउनुपर्नेछ । मयूर, सुन्दर लगायतका केही यातायातले भने केही दिनदेखि सवारीसाधन संचालनमा ल्याएका छन् । त्यस्तै माइक्रोबस, टेम्पोलगायतका सवारीसाधन पनि संचालन भइसकेका छन् ।