आज र भोलि धेरै वर्षा हुने, सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह
काठमाडौं । मनसुनी वायुको प्रभाव रहेकाले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक आउने क्रममा रहेकाले आज र भोलि धेरै पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाढी पहिरोको जोखिम धेरै भएकाले तटीय क्षेत्र तथा भिरालो जमिन आसपास घर भएकालाई उच्च सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।
विशेषगरी प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा रातिदेखि नै पानी परिरहेको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश १ र प्रदेश २ का एकदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबीच विभिन्न खोला तथा नदीहरुको बहावसमेत बढाउने भएकाले थप सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ ।
आज राति देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, २, वागमती, गण्डकी, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ।