विपद्को रोकथाम र सजगताको निम्ति समयमै ध्यान दिन पूर्वराजाको आग्रह
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय प्राकृतिक प्रकोपको पीडामा परेको नागरिकहरुप्रति चिन्ता व्यक्त गरेका छन्।
सोमबार एक विज्ञप्ति जारी गर्दै शाहले देशभर भइहरेका प्राकृतिक विपद्को घटनाबाट आफू दु:खी भएको बताएका छन्। उनले उद्धार, राहत र उपचारमा ध्यान पुर्याउन सबैलाई अपिल समेत गरेका छन्।
‘शोक, वियोग, ब्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस्। विनासको यो बेला पर्याप्त सहयोग, सुब्यवस्था तथा निगरानी पुगोस् भन्ने मेरो आग्रह छ,’ शाहले भनेका छन्।
पूर्व राजाले हरेक वर्ष हुने यस्तो विपद्को रोकथाम र सजगताको निम्ति समयमै ध्यान दिन आग्रह गरेका छन्।
शाहले उल्लेख गरेका छन्, ‘प्रतिकूल मौसमी प्रकृतिका कारण उत्पन्न प्रकोप र पीडाबाट जनताले मुक्तिको सास फेर्न पाउन् भन्ने मेरो ईश्वरमा प्रार्थना छ। प्राकृतिक विपदको यो समयमा म शोक सन्तप्त पिडित सबैमा हार्दिक समवेदना व्यक्त गर्दै घाईते भएका सबैको शिध्र स्वास्थ्यलाभको कामना गर्दछु।’