प्रशंसकहरुद्वारा अमिताभ र अभिषेकको स्वास्थ्यलाभको कामना
बलिउडका प्रख्यात अभिनेता अमिताभ बच्चन कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि बलिउडका हस्तीहरू र उनका प्रशंसकहरूले उनको स्वास्थ्य लाभको कामना गरेका छन् । आफूलाई कोभिड १९ भएको उनले गत मध्यराततिर ट्वीटमार्फत् जानकारी गराएका थिए। लगत्तै उनका छोरा तथा फिल्म अभिनेता अभिषेक बच्चनले पनि आफू पनि सङ्क्रमित भएको जानकारी दिएका थिए ।
दुवैलाई ट्विटरमा हजारौँ शुभेच्छुकले स्वास्थ्यलाभको कामना गरेका छन् । त्यसमा बलिउडका कलाकारदेखि पत्रकार, खेलाडी, राजनीतिककर्मी र सर्वसाधारणलगायत विभिन्न क्षेत्रका मानिसहरू छन् । ट्विटरमा अमिताभ बच्चनका चार करोड ३० लाखभन्दा बढी र अभिषेक बच्चनका डेढ करोडभन्दा बढी फलोअर छन् ।
अभिताभ बच्चनले ट्वीट गर्दै भनेका छन्, ‘मेरो परीक्षण पोजेटिभ देखिएको छ, अस्पतालमा भर्ना भएको छु। अस्पतालले अधिकारीहरूलाई सूचित गरिरहेको छ। परिवारका सदस्य र हाम्रा कर्मचारीहरूको पनि परीक्षण गरिएको छ।’
७७ वर्षीय अमिताभ पाँच दशकदेखि हिन्दी फिल्मका स्टार बनेका छन् । उनले २०० वटा चलचित्रमा अभिनय गरेका छन् । उनका छोरा ४४ वर्षीय अभिषेक बच्चनले ५० भन्दा बढी चलचित्रमा अभियन गरेका छन् ।
उनले ट्वीटमा आफू र आफ्ना बुवालाई सामान्य लक्ष्ण देखिएको जनाएका छन् । अभिषेक बच्चनले सबैलाई शान्त रहन र नआत्तिन आग्रह गरेका छन् । दुवै जना मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएका छन् । उनीहरु दुवैको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकले जानकारी दिएका छन् ।
अभिताभ बच्चनले विगत १० दिनमा आफूसँग सम्पर्कमा रहेका सबैलाई परीक्षण गराउन आग्रह गरेका छन् । महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले समाचारसंस्था एएनआईलाई दिएको जानकारी अनुसार अमिताभ बच्चनकी पत्नी जया बच्चन र बुहारी ऐश्वर्या राय बच्चनको पनि कोरोनाभाइरसको परीक्षण गरिएको छ । दुवै जनाको परीक्षणको नतिजा आइतवार आउने उनले बताए ।