बेलायतमा विक्री हुने विवादास्पद ‘कुमारीत्व परीक्षण’



ब्रिटेनका क्लिनिकहरूमा महिलाहरूलाई विवादास्पद ’कुमारीत्व परीक्षण’ सेवा उपलब्ध गराइने बीबीसी न्यूजबीट तथा १०० विमिनले पत्ता लगाएको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)तथा संयुक्त राष्ट्रसङ्घले व्यक्तिको निजत्व हनन हुने यस्ता परीक्षणलाई मानवअधिकारको उल्लङ्घन भन्दै प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् ।

आलोचकहरूले यस्ता परीक्षण अवैज्ञानिक भएको र यसबाट कोही कुमारी हो कि होइन भन्ने प्रमाणित गर्न नसकिने बताएका छन्। उनीहरूका अनुसार यो परीक्षण शोषणको हतियार समेत बन्न सक्छ।

यस्तो परीक्षणमा महिलाको परीक्षण गरेर योनीको झिल्ली दुरुस्त छ कि छैन भनेर हेरिन्छ।

बीबीसीले गरेको अनुसन्धानमा कतिपय निजी क्लिनिकहरूले ’कुमारीत्व मर्मत’ गर्ने विज्ञापन समेत गरेका छन्। तिनलाई सम्पर्क गर्दा १५० देखि ३०० पाउण्डमा यस्ता ’सेवा’ उपलब्ध हुने बताए।

‘एकदिन हाम्रो परिवारका एकजना अग्रजले मलाई मेरा साथीहरूसँग रहेको देखे अनि मेरी आमालाई गएर तीमध्ये एकजना केटा मेरो प्रेमी भएको बताइदिए। अनि समुदायमा थुप्रै हल्ला फिँजियो।’ त्यसपछि उनका आमाबुबाले उनलाई ’कुमारीत्व परीक्षण’ गर्नुपर्ने भनेर धम्क्याउन थाले।

‘मेरा आमाबुबा तथा वहाँहरूले मेरो विवाह गराइदिन खोजेको केटाको परिवारले मलाई कुमारीत्व परीक्षण गरेर म अझै कुमारी रहेको प्रमाणित गर्न भने,’ उनले बताइन्।

‘म निकै डराएको थिएँ। मैले के भइरहेको छ भनेर बुझ्न सकिनँ। मलाई लाग्यो मेरो निम्ति भाग्नु एकमात्र विकल्प हो र मैले त्यसै गरेँ।’प्रिया मनोटाले कर्मा निर्भानाको हेल्पलाइन व्यवस्थापन गर्छिन्।

‘हामीकहाँ यस्ता समस्याबाट चिन्तित महिलाहरूको फोन आउँछ। कतिपय महिला आफ्नो सम्बन्ध रहेको र आफू कुमारी नरहेकोबारे आफ्ना परिवारले थाहा पाएको र त्यसबाट चिन्तित भएको पाइन्छ।’

‘कतिपय चाहिँ परिवारले कुमारीत्व परीक्षण गराउन खोजेको र त्यसको परिणामबाट चिन्तित भएको पाइन्छ।’

‘मानका खातिर गरिने शोषण वा बाध्यकारी विवाहका कारक तत्वमा आफ्नो साथी आफैँ चुन्ने वा अन्तरङ्ग वा यौन सम्बन्ध कायम गर्ने विषय पर्छन्। हामीले यो संस्थामा रहँदा के थाहा पाएका छौँ भने केही मामिलामा पीडितको ज्यान नै गएको छ। अन्य पीडितको हकमा परिवारले तिनलाई अस्वीकार गर्ने परिस्थिति देखिन्छन्।’

कुमारीत्वको परीक्षण कम्तीमा २० वटा देशहरूमा गर्ने गरिएको डब्लुएचओले जनाएको छ।

उसका अनुसार यस्ता परीक्षणले कुनै किशोरी वा महिलाले यौनसम्बन्ध राखिसकेको हो वा होइन भन्ने कुनै पुष्टि हुने प्रमाण दिँदैन। किनभने योनीको झिल्ली ट्याम्पनको प्रयोग वा कसरतजस्ता अन्य विभिन्न कारणले पनि च्यातिन्छ।

गत वर्ष अमेरिकी र्याप गायक टीआईले आफ्नी छोरीलाई हरेक वर्ष कुमारी भएनभएको परीक्षण गराउने गरेको एउटा पडकास्टमा बताएपछि तीव्र आक्रोश उत्पन्न भएको थियो।

ट्वीजर तथा नक्कली रगत
यसबीच बीबीसीले अनलाइनमा झिल्ली मर्मत गर्ने सामग्री विक्री हुने गरेको फेला पारेको छ। कुमारीत्व पुनर्स्थापित गर्ने दाबीका साथ ती सामग्री ५० पाउण्डमा विक्रीमा राखिएको पाइएको छ।

करिब १०४ पाउण्डमा किनिएको एउटा त्यस्तो सामग्री जर्मनीबाट आइपुग्यो। त्यो किटमा जेल, प्लास्टिकका ट्वीजर अनि नक्कली रगतजस्तो लाग्ने तीन पोका थिए। तर कसरी प्रयोग गर्ने भन्ने विवरण थिएन।

डा. अस्फाक खान एक स्त्रीरोग विशेषज्ञ हुन्। उनीकहाँ कुमारीत्व परीक्षण गराइदिने तथा झिल्ली मर्मत गराइदिने अनुरोध नियमित आउने गरेको उनी बताउँछन्।

‘मलाई थाहा छैन यो किन यूकेमा प्रतिबन्धित छैन। यसलाई गैरकानुनी बनाउनुपर्छ,’ उनले भने।

‘सबभन्दा पहिलो कुरा त झिल्लीमा खराबी हुने बित्तिकै कोही कुमारी होइन भनेर भन्नै सकिँदैन। यो त विभिन्न कारणले च्यातिन सक्छ। यदि कसैले तपाइँको झिल्ली च्यातिएकव छ म बनाइदिन्छु भन्छ भने उसले नक्कली सर्टिफिकेट दिने हो।’

समुदायलाई शिक्षा
उनी भन्छन् यस्ता काम रोक्न थप कारबाही आवश्यक छ। ‘मेरो विचारमा यो अर्को अपराध हो। नैतिकरूपमा गलत कार्यसँग यो जोडिएको छ।’

यो वर्षको सुरुमा मिडल इस्टर्स विमिन एन्ड सोसाइटी अर्गनाइजेसनले कुमारीत्व परीक्षणमाथि प्रतिबन्ध लगाउन माग गर्दै अभियान थालेको छ। उसले यस विषयमा थप शिक्षाको आवश्यकता रहेको बताएको छ।

अभियानका संस्थापक हालालेह ताहेरीको भनाइ छः ‘हामी अन्ततः झिल्ली मर्मतलाई प्रतिबन्ध लागोस् भन्ने चाहन्छौँ तर यसबारे सुमदायलाई पहिला शिक्षित गरेर मात्र त्यसो गर्नु उपयुक्त हुन्छ।’

‘कुमारीत्वबारे मानिसहरूमा रहेको पुरातन मानसिकताका कारण नै यस्ता व्यवसाय चलेका हुन्।’

‘यदि हामीले हाम्रा समुदयलाई मद्दत गर्यौं र यसबारे बुझाउन सक्यौँ भने झिल्ली पुनर्स्थापित वा मर्मत गर्न आवश्यकता नै पर्दैन। विस्तारै त्यस्ता व्यवसाय आफैँ हराएर जानेछन्।’

र्‍याचेल स्टोनहाउस

न्यूजबीट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि

बेइजिङ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिएको चीनको उद्योग उत्पादन जुन महिनामा छ

अमेरिकी करले ब्राजिलको अर्थतन्त्रमा ठूलो असर पर्ने खतरा

साओ पाउलो । अमेरिकाले ब्राजिलबाट आउने सामानहरूमा ५० प्रतिशत महसुल (कर) लगाउने घोषणा

तीन देशका अन्तरिक्ष यात्रीको निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवतरण

फ्लोरिडा । भारत, पोल्यान्ड र हङ्गेरीबाट ४० वर्षभन्दा बढी समयपछि पहिलो अन्तरिक्ष यात्रीहरू

गतवर्ष आफ्नो नेतालाई अपदस्थ गरेको विद्रोहको परिणाम नियन्त्रण गर्न सङ्घर्ष गर्दै बङ्गलादेश

ढाका । गतवर्ष पूर्वप्रधानमन्त्री शेख हसिनालाई विद्यार्थी नेतृत्वको विद्रोहमा सत्ताबाट हटाइएपछि र उनको