अबिरल वर्षाका कारण उपत्यकाको फोहर व्यवस्थापनमा अवरोध


काठमाडौँ । अबिरल वर्षाका कारण फोहर ढुवानी गर्ने सडक र ल्याण्डफिल साइटमा माथिबाट लेदोसहितको माटो खसिरहेको हुँदा फोहर ढुवानी तथा विसर्जन गर्ने कार्यमा असहजता उत्पन्न भएको छ ।

यस विषम परिस्थितिका कारण केही समयका लागि फोहर संकलन तथा ढुवानी कार्य प्रभावित हुन सक्ने भएकाले महानगरवासी, घरधनी, व्यवसायी तथा सम्बन्धित सबैलाई महानगरले घरबाट सडकमा फोहन ननिकाल्न आग्रह गरेको छ ।

महानगरले आफ्नो घर, पसल, व्यवसाय तथा कम्पाउण्डबाट निस्कने फोहर सडक, चोक, सार्वजनिक स्थल, खोला–नाला वा अन्य खुला स्थानमा नफाल्न, फोहर संकलन नियमित हुन नसक्ने अवधिसम्म सम्भव भएसम्म फोहर सुरक्षित रूपमा आफ्नै घर/परिसर भित्र राख्न र फोहरलाई सड्ने/जैविक र नसड्ने फोहर छुट्याई सुरक्षित रूपमा व्यवस्थापन गर्न आग्रह गरेको छ ।

त्यस्तै महानगरले सडक तथा सार्वजनिक स्थानमा फोहर फाल्दा सडक अवरुद्ध हुनुका साथै वर्षाको पानीको निकासमा समेत बाधा पुग्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । वर्षा तथा ल्याण्डफिल साइटको अवस्था सामान्य हुनासाथ फोहर संकलन तथा ढुवानी सेवा नियमित रूपमा सुचारु गरिने महानगरले जनाएको छ ।