‘शुभ विवाह’को छायांकन स्थगित


काठमाडौं । लगातार भइरहेको वर्षाका कारण उत्पन्न प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै नेपाली चलचित्र ‘शुभ विवाह’को छायांकन तीन दिनका लागि स्थगित गरिएको छ।

प्रियदर्शन फिल्म्स प्रालिले असोज ९, १० र ११ गतेका लागि सरकारले जारी गरेको उच्च सतर्कताको सूचनालाई ध्यानमा राख्दै छायांकन स्थगित गर्ने निर्णय गरेको जनाएको छ।

निर्माता सुप्रिया कटुवाले कलाकार तथा सम्पूर्ण प्राविधिक टोलीको जीउधनको सुरक्षा र सहजता कम्पनीको पहिलो प्राथमिकता भएकाले तत्कालका लागि छायांकन रोकिएको बताएकी छन्।

निर्माण कम्पनीले प्रतिकूल मौसमका कारण उत्पन्न कठिन परिस्थितिमा सम्पूर्ण नेपालीलाई सतर्क र सुरक्षित रहन आग्रहसमेत गरेको छ। कम्पनीले ‘सुरक्षा नै पहिलो प्राथमिकता’ रहेको जनाएको छ।