अफगानिस्तानको हेलमन्ड प्रान्तमा तालिबान विद्रोहीको आक्रमणमा परी कम्तीमा १० प्रहरीको मृत्यु


अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तमा विद्रोही लडाकूले गरेको आक्रमणमा परी कम्तीमा १० प्रहरीको मृत्यु भएको छ । तालिबान लडाकूले नार–ए–सारज जिल्लाको याक्लिङ क्षेत्रमा शनिबार विहानै प्रहरी चौकीमा आक्रमण गरी कम्तीमा १० प्रहरी अधिकारीको हत्या गरेका प्रहरीले जानकारी दिएको छ ।

प्रहरी अधिकारीका अनुसार विद्रोहीले चौकीमा आक्रमण गरेपछि करिब तीन घण्टा भिडन्त भएको थियो । घटनामा केही तालिवान लडाकूहरू पनि मारिएका बताइएको छ ।

आक्रमणमा प्रहरी तथा तालिवान लडाकू दुबैतर्फ केही व्यक्ति घाइते भएका र उनीहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ । यसैबीच हेलमन्ड प्रान्तका सरकार प्रमुख ओमार जावाकले पनि आक्रमणको घटनालाई पुष्टि गरेका छन् । आक्रमणपछि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।