बाङ्ग्लादेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोधमा हिंसात्मक विरोध प्रदर्शनहरू भएका छन् । बाङ्ग्लादेशको ५० औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा आयोजित उत्सवमा सहभागी हुन दुई दिनका लागि मोदी शुक्रवार राजधानी ढाका पुगेका हुन् ।
एउटा इस्लामिक धार्मिक सङ्गठनले शनिवार पनि विरोधप्रदर्शनको कार्यक्रम राखेको छ भने आइतवार हड्ताल गर्ने घोषणा गरेको छ । शुक्रवार भएको प्रदर्शनमा प्रहरीले कारबाही गर्दा चटगाउँमा चार जना र ब्राह्मनबारियामा एकसहित कम्तीमा पाँच जनाको मृत्यु भएको प्रहरी तथा स्थानीय स्रोतलाई उदृत गर्दै बीबीसी बाङ्ग्लाले जनाएको छ ।
ढाकासहित विभिन्न स्थानमा प्रहरीसँग भएको झडपमा कैयौँ मानिसहरू घाइते भएको बताइएको छ । बीबीसी बाङ्ग्लाका अनुसार ढाकामा विगत केही सातादेखि वामपन्थी र दक्षिणपन्थी सङ्गठनहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमणको छुट्टाछुट्टै विरोध गरिरहेका थिए । ढाका विश्वविद्यालयमा विद्यार्थीहरूले पनि मोदीको भ्रमणको विरोध गर्दै आएका थिए ।
विदेशी नेताहरूको भ्रमण तथा देशको स्वतन्त्रता दिवसलाई दृष्टिगत गरेर ढाकामा सुरक्षाव्यवस्था कडा पारिएको थियो । ढाकामा शुक्रवारको प्रार्थनापछि मानिसहरूले मोदीविरुद्ध नारा लगाउन तथा तोडफोड गर्न थालेपछि प्रहरीले कारबाही गरेको थियो ।
दक्षिणपन्थी इस्लामिक सङ्गठनहरूले मोदीको नीति मुस्लिम समुदायविरोधी भएको आरोप लगाउँदै विरोध गरिरहेका छन् । भारतले बाङ्ग्लादेशसँग हेपेर व्यवहार गर्ने गरेको आरोप लगाउँदै प्रदर्शनकारीहरूले “भारतीय आक्रामकता“ को विरोध गरेको दाबी गरेका छन् ।
ढाकामा प्रहरीले कारबाही गरेको सूचना पाएपछि चटगाउँस्थित हाटहजारी मदरसाबाट विरोध र्याली निकालिएको बाङ्ग्लादेशी सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले कारबाही गर्दा घाइते भएका मानिसलाई चटगाउँ मेडिकल कलेजको अस्पतालमा लगियो । घाइतेमध्ये कम्तीमा चार जनाको मृत्यु भएको त्यहाँस्थित एक प्रहरीले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन् ।
हिफाजत–ए–इस्लामका नेता मुजिबुर रहमान हमिदीले आफ्ना केही समर्थकहरूको मृत्यु भएको बताएका छन् । प्रदर्शनकारीहरूको अवरोधका कारण शनिवार अपराह्णसम्म चटगाउँलाई जोड्ने एउटा राजमार्ग बन्द छ ।


प्रतिक्रिया