नेपाल कम्युनिष्ट पार्टी (मसाल) केन्द्रीय कार्यालय
वक्तव्य
नेपालको लिम्पियाधुरालाई भारतको गृहमन्त्रालयले नयाँ राजनीतिक नक्सामा भारतीय क्षेत्रमा राखेको कुरा समाचारहरु सार्वजनिक भएका छन् । लिम्पियाधुरामा कालापानी र लिपूलेक समेत पर्दछन् । विगतदेखि नै सीमाक्षेत्रमा अतिक्रमण र नेपालको आन्तरिक मामिलामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हस्तक्षेप गर्दै आएको भारतीय साम्राज्यवादको साम्राज्यवादी चरित्रलाई यो सिलसिलाले अरु उदाङ्गो बनाएको छ ।
भारतीय पक्षबाट सार्वजनिक गरिएको त्यो नक्साले नेपालको सार्वभौमिकतालाई चुनौति दिएको कुरा प्रष्ट छ । हाम्रो पार्टीले भारतीय साम्राज्यवादको उक्त साम्राज्यवादी नीतिको भ्रत्र्सना र विरोध गर्दछ ।
भारतीय साम्राज्यवादले आफ्नो राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरा, कालापानी र लिपूलेकलाई आफ्नो भूभागभित्र पारेर सार्वजनिक गरेको भएपनि त्यससम्बन्धी नेपाल सरकारले कुनै धारणा सार्वजनिक गरेको छैन । यस सम्बन्धी आधिकारिक धारणा सार्वजनिक गरेर देशको सार्वभौमिकताको रक्षाको लागि आवश्यक कदम उठाउन हामी नेपाल सरकारको ध्यान आकर्षित गर्दछौँ ।
यसका साथै देशको राष्ट्रियता, स्वाधीनता र सार्वभौमिकतालाई अक्षण्णु राख्दै भारतीय साम्राज्यवादलाई परास्त गर्नका लागि देशभक्त नेपाली जनताको देशभक्तिपूर्ण सङ्घर्ष र एकता नै महत्वपूर्ण शक्ति हुनेछ । हाम्रो पार्टीले सम्पूर्ण देशभक्त जनतालाई सार्वभौमिकताको पक्षमा दृढतापूर्वक उभिनका लागि अपील गर्दछ ।
पछिल्लो समयमा सिन्धुपाल्चोक लगायत देशका बिभिन्न स्थानहरुमा भएका सडक दुर्घटनामा कैयौँले ज्यान गुमाउन पुगेका छन् । त्यसरी सडक दुर्घटनामा परेर ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ । दुर्घटनामा घाइते हुनेहरुलाई शीघ्रस्वास्थ्य लाभको कामना गर्दछौँ । यसका साथै मृतकहरुका परिवारजनलाई क्षतिपूर्ति र घाइतेहरुको उपचारको व्यवस्था मिलाउनका लागि हामी सरकारको ध्यान आकर्षित गर्दछौँ ।
नेपालमा लगातार रुपमा सडक दुर्घटनाहरु हुने गरेका छन् । त्यसरी पटकपटक हुने सडक दुर्घटनाहरुबाट ठूलो जनधनको क्षति भइरहेको छ । तर सडक दुर्घटनाहरु हुन नदिन वर्तमान सडक व्यवस्था र सुरक्षामा सुधार गर्नका लागि सम्बन्धित पक्षहरुले कुनै चासो राखेको पाइँदैन ।
सडक—यातायात सम्बन्धी नियम—कानुनमा रहेका समस्याहरुले पटकपटक दुर्घटनाका घटनाहरु घट्ने गरेका छन् । हामी सरकार र सरोकारवाला सबै पक्षहरुलाई यस सम्बन्धीका नियम कानुमा आवश्यक सुधार गरी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि ध्यान आर्कर्षित गर्दछौँ ।
मिति : २०७६ कार्तिक २० गते
रामप्रकाश पुरी
प्रवक्ता

प्रतिक्रिया