अमेरिकी वायुसेनाको क्लाउड प्रणालीमा साइबर आक्रमण, सैन्य तथ्यांक जोखिममा


रोयटर्स । अमेरिकी वायुसेनाको प्रमुख क्लाउड कम्प्युटिङ प्रणाली ‘क्लाउड वन’ मा ह्याकरहरूले घुसपैठ गरेको खुलासा भएको छ। करिब एक महिनाअघि प्रणाली स्तरोन्नति गर्ने क्रममा साइबर आक्रमणको घटना पत्ता लागेको हो।

आक्रमणमा को संलग्न थियो, प्रणालीमा कति क्षति पुग्यो र कुनै संवेदनशील तथ्यांक चोरी भयो वा भएन भन्नेबारे अझै स्पष्ट भइसकेको छैन। अमेरिकी वायुसेनाले भने आफ्नो सञ्जालको सुरक्षाबारे विशेष टिप्पणी गर्न अस्वीकार गर्दै साइबर सुरक्षाका लागि आवश्यक सावधानी अपनाइरहेको जनाएको छ।

सन् २०१७ मा सुरु गरिएको ‘क्लाउड वन’ प्रणालीले माइक्रोसफ्ट, अमेजन, ओरेकल र अल्फाबेटका क्लाउड सेवाहरूलाई एकीकृत गर्छ। यसले अमेरिकी वायुसेनाका कर्मचारी व्यवस्थापन, तलब, रसद तथा विमान मर्मतसम्भारलगायतका काममा सहयोग पुर्याउँदै आएको छ।

यो प्रणाली अमेरिकी वायु रक्षा र सैन्य सञ्चालनसँग सम्बन्धित महत्त्वपूर्ण एप्लिकेसनमा समेत प्रयोग हुन्छ। यसअन्तर्गत उत्तर अमेरिकाको हवाई रक्षा राडारबाट प्राप्त सूचना एकीकृत गर्ने ‘क्लाउड–बेस्ड कमान्ड एन्ड कन्ट्रोल’ तथा २०० भन्दा बढी अमेरिकी वायुसेना स्थानमा रहेका बम र क्षेप्यास्त्रको विवरण राख्ने प्रणाली पनि सञ्चालनमा छन्।

घटनाको अनुसन्धानका लागि अमेरिकी साइबर कमान्डलाई समेत संलग्न गराइएको छ। साइबर आक्रमणपछि क्लाउड प्रणालीमा भइरहेका केही काम रोकिएका छन्। अन्य प्रणालीमा एप्लिकेसन स्थानान्तरण गर्ने प्रक्रिया स्थगित गरिएको छ भने सञ्चालनमा रहेका एप्लिकेसनमा नयाँ अपडेट लागू गर्नसमेत अवरोध पुगेको छ।

केही प्रयोगकर्ताले प्रशासनिक पहुँचसमेत गुमाएका छन्। यसले नयाँ सुरक्षा कमजोरी देखिएका सफ्टवेयरमा आवश्यक सुधार लागू गर्न कठिनाइ भएको स्रोतलाई उदृत गर्दै समाचारमा उल्लेख गरिएको छ।

‘क्लाउड वन’ प्रणालीको मुख्य ठेकेदारका रूपमा सन् २०२६ सम्म एसएआईसीले काम गरेको थियो। त्यसपछि उक्त जिम्मेवारी लिडोस कम्पनीले सम्हालेको छ।