सर्वोच्चद्वारा कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, सरकारलाई राहत


काठमाडौँ । सर्वोच्च अदालतले महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको मुद्दामा अन्तरिम जारी नहुने आदेश गरेको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको ठहर गरेको हो ।

कार्कीले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उनले आफूलाई पूर्ववत् आईजीपी पदमा पुनर्बहाली गर्न र नयाँ नियुक्ति पाएका मनोजकुमार केसीलाई आईजीपीका रूपमा कामकाज गर्न रोक लगाउन अन्तरिम आदेशसमेत माग गरेका थिए । यसअघि मंसिर आठका लागि पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन ।