काठमाडौं । सरकारी सेवाबाट अवकाश पाउनेबित्तिकै कानून व्यवसायमा प्रवेश गर्ने प्रवृत्तिलाई नियमन गर्न नेपाल कानून व्यवसायी परिषद्ले दुई वर्षको विश्राम अवधि (कूलिङ अफ पिरियड) लागू गरेको छ ।
परिषद्ले सरकारी सेवाबाट निवृत्त भएका विभिन्न क्षेत्रका कर्मचारी तथा अधिकारीले कानून व्यवसायीको प्रमाणपत्र अद्यावधिक गरी वकालत गर्न सेवा निवृत्त भएको दुई वर्ष पूरा हुनुपर्ने व्यवस्था गरेको हो ।
नेपाल कानून व्यवसायी परिषद्ले मंसिर १ गते बसेको बैठकबाट यस्तो निर्णय गरेको हो । निर्णयअनुसार नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहमा स्थायी नियुक्ति पाई कार्यरत निजामती कर्मचारी, न्यायाधीश तथा न्याय सम्पादनको कार्यमा संलग्न व्यक्ति, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा नेपाली सेनामा कार्यरत व्यक्ति र सरकारी निकायबाट पारिश्रमिक लिने विद्यालयका स्थायी शिक्षक लगायत अन्य कर्मचारीले सेवा निवृत्त भएको दुई वर्षपछि मात्रै प्रमाणपत्र अद्यावधिक गर्न निवेदन दिन पाउनेछन् ।
परिषद्का अनुसार सरकारी सेवाबाट अवकाशलगत्तै कानून व्यवसायमा प्रवेश गर्दा स्वार्थको द्वन्द्व उत्पन्न हुन सक्ने तथा निष्पक्षतामाथि प्रश्न उठ्ने परिस्थितिलाई सम्बोधन गर्न यस्तो व्यवस्था गरिएको हो ।
उक्त निर्णय कार्यान्वयनका लागि परिषद्ले आन्तरिक कार्य व्यवस्था सञ्चालन नियमावली, २०५५ को नियम १३ संशोधन गरेको जनाएको छ ।

प्रतिक्रिया