काठमाडौं । थाइल्यान्डबाट मलेसिया हुँदै नेपाल आएका एक भारतीय नागरिक ४.८ किलो थाई गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
लागु औषध नियन्त्रण ब्यूरोका अनुसार पक्राउ पर्नेमा भारतको केरला, मुलरिया ठेगाना भएका २९ वर्षीय अब्दुल नौशाद छन् ।
मंगलबार हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्ने शंकास्पद यात्रुहरूको निगरानी गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौचरनस्थित लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
ब्यूरोका अनुसार उनी थाइल्यान्डबाट मलेसियाको क्वालालम्पुर हुँदै नेपाल आएका थिए । जाँचका क्रममा उनीसँग ४.८ किलोग्राम थाई गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका नौशादमाथि लागु औषध नियन्त्रण ब्यूरोबाट थप अनुसन्धान भइरहेको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिएका छन् ।

प्रतिक्रिया