काठमाडौँ । प्रधानमन्त्री बालेन साहको भारत भ्रमणले दुई देशबीचको सम्बन्धमा सिर्जना गरेको सकारात्मक वातावरणमाथि भारतीय विदेश सचिव विक्रम मिश्रीको ईपीजी प्रतिवेदन ‘पुरानो र असान्दर्भिक’ भएको टिप्पणीले चिसो पानी खन्याएको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन्।
भट्टराईले सामाजिक सञ्जालमार्फत ईपीजी प्रतिवेदन कुनै एक देशले तयार पारेको वा खास मुद्दामा केन्द्रित सामान्य दस्तावेज नभएको उल्लेख गरेका छन्। उनका अनुसार यो दुवै देशको सहमतिमा निर्माण भएको द्विपक्षीय दीर्घकालीन तथा रणनीतिक समस्याहरू मैत्रीपूर्ण ढंगले समाधान गर्ने विशिष्ट माध्यम हो।
प्रतिवेदनको उचित विकल्पबिना पुराना सन्धि, सीमा विवाद, व्यापार तथा पारवहन समस्या र सुरक्षा सम्बन्धलगायतका ऐतिहासिक मुद्दालाई कार्पेटमुनि लुकाएर दुई निकट छिमेकीबीचको सम्बन्ध कसरी मैत्रीपूर्ण र दिगो हुन सक्छ भन्ने प्रश्न भट्टराईले उठाएका छन्।
उनले भारतीय पक्षलाई यी विषयमा ध्यान दिन आग्रह गर्दै लेखेका छन्, ‘दिल्लीका ‘बाबु’हरूको ध्यान पुगोस्!’

प्रतिक्रिया