महेन्द्रनगर र नेपालगञ्ज हवाई रुट नेपालको प्राथमिकता


काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले भैरहवाबाट दुईतर्फी हवाई रुट सञ्चालन गर्ने सहमतिलाई स्वागत गरेका छन् ।

सामाजिक सञ्जालमार्फत भट्टराईले सहमति सैद्धान्तिक रूपमा सकारात्मक रहेको र यसले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई समेत केही हदसम्म सहयोग पुग्ने बताएका छन् ।

तर, भैरहवा र पोखरामा विमान अवतरणका लागि उक्त रुट सहज र उपयुक्त हुने वा नहुने विषय प्राविधिक निष्कर्षपछि मात्रै स्पष्ट हुने उनको भनाइ छ ।

भैरहवाका लागि ६ हजार ५०० फिट र पोखराका लागि १५ हजार फिट उचाइ उपयुक्त हुने आफूले बुझेको उल्लेख गर्दै उनले भारतीय प्राविधिक पक्षले उक्त प्रस्ताव स्वीकार गर्छ वा गर्दैन भन्ने हेर्न बाँकी रहेको बताएका छन् ।

उनले दुईतर्फी हवाई रुटका विषयमा नेपालको प्राथमिकता भने महेन्द्रनगर र नेपालगञ्ज नै रहेको बताएका छन् । साथै, सन् २०१९ ताका दुई देशका सम्बन्धित अधिकारीबीच हवाई रुटबारे भएको छलफल कहाँ पुगेको थियो र कार्यान्वयनको चरणमा पुग्न लाग्दा किन रोकियो भन्ने विषय कुनै बेला सार्वजनिक गर्ने पनि भट्टराईले उल्लेख गरेका छन् ।